धमाधम स्वास्थ्य सेवा विस्तार गरिँदै

  असार ०९, २०७९

रामपुर (पाल्पा), असार ९ : रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निः शुल्क उपलब्ध गराउने गरी वडा वडामा आधारभूत स्वास्थ्य केन्द्रको संरचना तयार पारेर सेवा दिन थालेको छ ।

बुधबार मात्रै रामपुरमा तीनवटा आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । यहाँको वडा नं ४, ७ र ९ मा स्वास्थ्य सेवा प्रभावकारी बनाउन संरचना निर्माण गरिएको हो । वडा नं ४ मा रु २८ लाख ८५ हजार ५७९ को लागतमा भवन निर्माण गरी सेवा दिइएको छ । भ्याटबाहेक रु ३० लाख २० हजार ८०५ मा ठेक्का सम्झौता भएको सो भवन एकतले तीन कोठासहित निर्माण गरिएको हो ।

त्यसैगरी ७ मा रु ३२ लाख ३४ हजार ५४० र वडा नं ९ मा ३३ लाख ९५ हजार ८१३ को लागतमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । नगर स्वास्थ्य शाखा संयोजक गिरीराज घिमिरेले रामपुर नगरभित्र सबै स्वास्थ्य संस्था आफ्नै भवनमा सञ्चालन भएको बताउनुभयो । रामपुर नगरभित्र एक ५० शय्याको रामपुर अस्पताल, चारवटा स्वास्थ्य चौकी (गाँडाकोट, दर्छा, खालिवन र गेझा), पाँचवटा आधारभूत स्वास्थ्य केन्द्र, सातवटा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

“नगरपालिकाभित्र कुनै पनि स्वास्थ्य संस्था भाडामा नरहेको र अबको एकवर्षभित्र नयाँ बन्न बाँकी रहेका सबै स्वास्थ्य संस्थाको भवन निर्माण सक्ने योजना छ, वडा नं १ को चण्डिहान, ३ को गण्डकीढिक, १० को जगटेआँपमा पक्की स्वास्थ्य भवन बन्नेछ”, प्रमुख घिमिरेले भन्नुभयो । रामपुर–४ का वडाध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रानाले वडा–वडामा आधारभूत स्वास्थ्य केन्द्रले नागरिकलाई स्वास्थ्य सेवामा राम्रो सुविधा पुगेको बताउनुभयो ।

करिब एक घण्टा बढीको समय पैदल हिँडेर स्वास्थ्य संस्थामा धाउनुपर्ने समस्या अहिले वडामै रहेको आधारभूत स्वास्थ्य केन्द्रको भवनबाट औषधोपचार सेवा पाउँदा नागरिकलाई ठूलो राहत पुगेको हसिना मियाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सामान्य औषधोपचारका निम्ति एक घण्टा धेरै समय हिँडेर रामपुर अस्पतालमै जानुपर्ने बाध्यता थियो, घर नजिकै सञ्चालन भएको स्वास्थ्य केन्द्रबाट आफूले भनेको समयमा सेवा पाइएको छ, हामी यसमा धेरै खुसी छौँ ।”

स्वास्थ्य केन्द्रको भवन नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्नुहुँदै स्वास्थ्यलाई प्राथमिकता दिँदै आवश्यक संरचना बनाएर सेवा विस्तार गरिरहेको बताउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले सबैलाई पायकपर्ने ठाउँमा नगरपालिकाले स्वास्थ्य संरचना निर्माण गरेको हँुदा भरपुर सेवा लिन अनुरोध गर्नुभएको छ ।

आधारभूत स्वास्थ्य केन्द्रबाट ओपिडी, बिपी, सुगर, प्रेसर, डे«सिङ, परिवार नियोजन देखि आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको छ । दैनिक ५० जना बिरामी स्वास्थ्य सेवा लिन आउने गरेको आधारभूत स्वास्थ्य केन्द्र देवीस्थानका स्वास्थ्य सहायक सकिला बानु बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया