मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

  असार ०७, २०७९

काठमाडौँ, असार ७ : मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

दिवसका अवसरमा सरकारी एवं गैरसकारीस्तरबाट विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा योग अभ्याससमेत गराइएको थियो । पतञ्जलि योग समिति, भारतीय दूतावासलगायत संस्थाले कार्यक्रम आयोजना गरेको जनाइएको छ । ती कार्यक्रममा योगको महत्वका विषयमा जानकारी गराइनुका साथै योग अभ्याससमेत गराइएको थियो ।

कार्यक्रमका अवसरमा औषधीय गुणले युक्त गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । चिया र गुर्जोको धुलोमा ६० वटा वनस्पति मिलाइएको उहाँले सुनाउनुभयो । सो अवसरमा कार्यक्रमका सहभागीलाई गुर्जोलगायत जडीबुटीबाट बनेको चिया निःशुल्क सेवन गराइएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया