सांस्कृतिक संस्थानको स्वर्ण महोत्सवमा राष्ट्रपति भण्डारी

  असार ०५, २०७९

काठमाडौँ, असार ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले समाजलाई असल मार्गमा निरन्तर डो¥याउन तथा समाजको मौलिकताबाट अभिप्रेरित हुन कला र समाजबीच उच्च तहको अन्तरक्रिया आवश्यक भएको बताउनुभएको छ ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘स्वर्ण महोत्सव उद्घाटन विशेष कार्यक्रम’ मा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सोका लागि सांस्कृतिक संस्थान एवं विभिन्न राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले पारस्परिक सहयोग र समन्वयका आधारमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

“कला र संस्कृति कुनै पनि राष्ट्रको विशिष्ट पहिचान हो । समकालीन विश्वमा कुनै मुलुकको सभ्यता कति समृद्ध छ भन्ने कुरा आफ्नो मौलिक संस्कृतिको विकास र प्रवद्र्धनका लागि त्यहाँको समाज र राष्ट्रले कसरी योगदान गरिरहेको छ भन्ने दृष्टिबाट समेत मापन गरिँदै आएको छ । यस सन्दर्भमा नाटक, गीत–सङ्गीत, नृत्य, वाद्यवादनलगायत प्रस्तुतिजन्य कलाका विभिन्न विधाले नेपाली मौलिक संस्कृति र सभ्यताको निर्माणमा गरिरहेको योगदान अमूल्य छ । यसैले, नेपाली रङ्गमञ्च, सङ्गीत र नृत्यकलालाई समुन्न्नत बनाउन योगदान गर्ने श्रष्टा र नेतृत्वकर्तामा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नेपाल राष्ट्रले तपाईंहरूको सिर्जनामा गर्व गर्दछ, गरिरहनेछ”, उहाँले भन्नुभयो ।

“प्राचीन समयदेखि नै हाम्रा पूर्वजहरूले मौलिक कला र संस्कृतिको महत्व बुझेर तिनको जगेर्ना गर्न हामीलाई प्रेरित गर्दै आएका छन् । साहित्य, कला र सङ्गीतले असल मानवीय भावनाको प्रवद्र्धन गर्दछ । कला र सिर्जनाका यी हरेक विधा जीवनको बहुआयाम र बहुरङ्गलाई समेट्ने माध्यम भएकाले प्राचीन कालदेखि नै मानव सभ्यता त्यसतर्फ सधैँ आकर्षित र उत्प्रेरित छ”, राष्ट्रपति भण्डारीको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले छिमेकी तथा मित्र राष्ट्रहरूका साथै विश्वका विभिन्न मुलुकका सांस्कृतिक संस्था वा निकायसँग भाइचारा सम्बन्धको विकास गर्दै सांस्कृतिक आदानप्रदानको माध्यमबाट नेपाली कला र संस्कृतिलाई बाह्य मुलुकमा प्रवद्र्धन गर्न सक्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया