दिक्तेलमा महिनाको अन्तिम शनिबार सरसफाइ अभियान

  जेठ २९, २०७९

खोटाङ, जेठ २९ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हरेक महिनाको अन्तिम शनिबार सरसफाइ अभियान सुरु गरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै नगरपालिकालाई स्वच्छ र सुन्दर बनाउन सरसफाइ अभियान सुरु गरिएको हो ।अभियानको पहिलो दिन बाम्राङको फेमिली केयर अस्पतालबाट रत्नपार्क हुँदै पुरानो बेसक्यामसम्म सरसफाइ गरिएको छ । दिक्तेल बजार क्षेत्रको सरसफाइ सकेपछि सबै वडाको बजार क्षेत्रमा सरसफाइ गरिने वडा नं ५ लफ्याङका वडाध्यक्ष एवं प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो ।

सरसफाइमा नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, सरकारी तथा गैंर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र टोल विकास समितिका पदाधिकारी सहभागी थिए । दोस्रो कार्यकालका लागि निर्वाचित नगर कार्यपालिकाको पहिलो बैठकले प्रत्येक महिनाको अन्तिम शनिबार सरसरफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । यसै बीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारको विभिन्न क्षेत्रमा थुप्रिएको फोहर उठाउन थालेको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले सडक अवरुद्धका कारण देखाउँदै बजार क्षेत्रमा थुप्रिको फोहर उठाउन छाडेको लामो समयपछि शनिबारदेखि नै उक्त फोहर उठाउन थालिएकोे हो ।

वर्षाद्का कारण वडा नं ५ लफ्याङमा रहेको ल्याडफिल्ड साइड (फोहर व्यवस्थापन केन्द्र) जाने सडक अवरुद्ध हुनाका साथै फोहर ओसार्ने गाडीसमेत बिग्रिएको भन्दै दिक्तेल बजारको फोहर उठाउन छाडिएको थियो । दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले वैकल्पिक रुपमा तत्कालका लागि वडा नं १ दिक्तेलका जीवनाथ आचार्यको जग्गामा थुपार्नेगरी बजारको फोहर उठाउन थालेको हो ।

पन्ध्र वडा रहेको यस नगरपालिकामा फोहरलाई मोहर बनाउने उद्देश्यले प्राङ्गारिक मल उद्योग खोलिए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सढ्ने किसिमका फोहरलाई उद्योगमा लगेर प्राङ्गारिक मल उत्पादन गर्ने तयारी स्वरुप प्राङ्गारिक मल उद्योग स्थापना गरिएको हो । उक्त उद्योगमा कर्मचारी नियुक्त गरेर नियमित तलब खुवाइए पनि प्राङ्गारिक मल उत्पादन भने भएको छैन । स्थापनपछि केही समय सञ्चालनमा आएपछि बन्द रहेको उक्त प्राङ्गारिक मल उद्योगसमेत चाँडै सञ्चालन गर्ने तयारी गरिएको उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया