सुनसान चोभार सुख्खा बन्दरगाह

  जेठ २१, २०७९

काठमाडौं, जेठ २१ : चोभारस्थित सुख्खा बन्दरगाह चैत्र २२ गते उद्घाटन भएर सञ्चालनमा आए पनि अहिलेसम्म सुनसान जस्तै बनेको छ। सञ्चालनमा आएको दुई महिना बितेपनि बन्दरगाहको चहलपहल भने सुनसान छ। काठमाडौं केन्द्रित व्यावसायीका लागि निकै महत्वपूर्ण मानिएको उक्त सुख्खा बन्दरगाहा नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको थियो।

तर, अहिले जाँच पासका लागि आउने सवारीको संख्या ज्यादै न्यून रहेको सुख्खा बन्दरगाह भन्सार प्रशासनका प्रमुख धनबहादुर बरुवालले बताउनुभयो।  ‘बन्दरगााहा सञ्चालनमा ल्याउने चरणमा निकै उत्साहका साथ मालबाहक कन्टेनर भन्सार जाँच पासका लागि आउने अपेक्षा गरिएको थियो। तर, अहिले त्यस्तो छैन,’ उहाँले भन्नुभयो, ‘सञ्चालनमा आएदेखि अहिलेसम्म १२ वटा कन्टेनर मात्र भन्सार चेक जाँचका लागि आएका छन्।’

अहिले सरकारले पतितपत्र (एलसी) खोल्नका लागि कडाइ गरेकाले पनि यो अवस्था सृजना भएको हुनसक्ने उहाँको बुझाइ छ। ‘हाल सरकारले माल वस्तुको आयातमा पतितपत्र (एलपी)  अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेकाले पनि भन्सार जाँच पासमा आउने कन्टेनरको संख्या न्यून भएको हो,’ प्रमुख बरुवालले भन्नुभयो, ‘सरकारले अब एलसीको कडाइ खकुलो गराउने हो भन्ने भन्सारमा जाँच पासका लागि आउने कन्टेनरको संख्या बढ्न सक्छ।’

अहिले सुख्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि निजी क्षेत्रको आकर्षण नरहेको प्रमुख बरुवाले बताउनुभयो। ‘बन्दरगाह बनाउदा निजी क्षेत्रले निर्माण कार्य ढिलो भयो भनेर निकै गुनासो गरेका थिए,’उहाँले भन्नुभयो, ‘तर जुन चासो थियो अहिले त्यो देखिएन।’

नेपाली व्यावसायीले समुन्द्री बदरगाह हुँदै तराईका पाँच नाकाबाट आयात गर्ने मालवस्तु बोकेको कन्टेनर सीमा क्षेत्रमा आवश्यक प्रकृया पुर्याएरएपछि सिधै काठमाडौं छिरेर चोभारस्थित सुख्खा बन्दरगाहमा जाँच गर्न पाउने व्यवस्थासहित यसको निर्माण गरिएको हो।

अब चोभारकै नाममा पतितपत्र (एलसी) खोलेर  मालवस्तु ल्याउने क्रम चल्ले बरुवालले विश्वास व्यक्त गर्नुभयो। १ अर्व ५४ करोडको लागतमा उक्त बन्दरगाहको निर्माण भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया