किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने

  जेठ १०, २०७९

काठमाडौं, जेठ १० : सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने भएको छ। मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारकाे वार्षिक नीति तथा कार्यक्रम २०७९/०८० प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरद्ध खोप दिने जानकारी दिनुभएको हो।

नीति तथा कार्यक्रममा सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ४० वर्षमाथिका नागरिकलाई वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने, स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइएको राष्ट्रपति भण्डारीले जानकारी दिनुभयो।

प्रदेशको सहभागिता र समन्वयमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिने, डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइने, प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्ने, सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यसैगरी, औषधोपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइने। स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि कानूनी व्यवस्थालाई थप बलियो बनाइने, सामाजिक  स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने जनाइएको छ।

सबै अस्पतालमा सामाजिक सेवा एकाई स्थापना गरेर एकै बिन्दुबाट सेवा प्रदान गर्ने  व्यवस्था मिलाइने, पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिनेछ। ज्येष्ठ  नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने, जनस्वास्थ्यका कार्यक्रममार्फत् रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइने, केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवम् सुविधा सम्पन्न बनाई सबै प्रकारका विशिष्टिकृत परीक्षण सरल र सहज रुपमा हुने व्यवस्था मिलाउने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ।

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई विस्तार गरिने, विशिष्टिकृत स्वास्थ्य  प्रयोगशाला गर्न निजी क्षेत्रलाई प्रोत्साहित र आकर्षित गरिने पनि उक्त कार्यक्रमा उल्लेख गरिएको छ।

कार्यक्रममा देशभित्रका प्रयोगशालामा परीक्षण हुन नसक्ने अवस्थामा मात्र विदेशमा परीक्षण गर्न पठाइने। नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनलाई प्रभावकारी रुपमा कार्यन्वयन गरिने। शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एंव क्यान्सर लगायतका दीर्घरोगीका लागि प्रत्येक प्रदेशमा पुनःस्थापना तथा परामर्श केन्द्र स्थापना गरिने। नागरिकको सहभागितामा नसर्ने रोग न्यून गर्न नागरिक आरोग्य अभियान सञ्चालन गरिनेछ।

आधारभूत र जीवनरक्षक  औषधि र अक्सिजन तथा औषधि जन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिनेछ। नेपाली औषधि उत्पादकको उत्पादन क्षमता वृद्धि गरी औाषधि सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने एक स्वास्थ्य रणनीति कार्यान्वयनमा ल्याएर जैविक औषधिको प्रतिरोधलाई न्यून गरिने कार्यक्रमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया