कला परिषद्मा ‘मैत्री चित्रकला प्रदर्शनी’

  जेठ ०९, २०७९

काठमाडौँ, जेठ ९ : आधुनिक कला समाज नेपाल (सोमा)को आयोजना र एसएमडी आर्ट फाउण्डेसन भारत (एसएमडी) का सहयोगमा नेपाल कला परिषद् बबरमहलमा आजदेखि ‘मैत्री चित्रकला प्रदर्शनी’ सुरु भएको छ । नेपाल र भारतका कलाकार तथा रुस, अमेरिका, लेबनान ताइवान(चीन) र अल्बानियाका अतिथि कलाकार गरी २६ जनाको सहभागिता भएको तीनदिने प्रदर्शनीमा करिब सय चित्र राखिएका छन् ।

नेपालका कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, हरि खड्का, नरेश सैंजु, मनिक होडा, रत्नकाजी शाक्यलगायत तथा भारतका आरसी शर्मा, शङ्कारी मित्र, विजयमणि थुलुङ, गार्गी गितोम बोरा, श्रीयांसी मनु, लखिप्रभा सैकिया, नीलम मनसरामणि, चिराग मनसरामणि, लेबनानका नादा इतानी, अमेरिकाका सहला तेल्लो कजिहा, रुसका एलेना तेरेस्कोभा, अल्बानियाका ओल्त्सन ग्रिप्सीलगायतका प्रकृति, संस्कृति, कोरोनासँग सम्बन्धित तथा अमूर्त चित्र आदि राखिएका छन् ।

प्रदर्शनी उद्घाटनका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर, कला परिषद्का महासचिव शङ्करनाथ रिमाल र सदस्य जीवन राजोपाध्याय, सोमाका कार्यवाहक अध्यक्ष गोविन्दलालसिंह डङ्गोल र एसएमडी फाउण्डेसनका मिन्टु डेकाले कलाको कुनै देश र जाति नहुने जनाउँदै कला र सभ्यता विकासका लागि विश्वकै कलाकारबीच मैत्री सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।

सिर्जना –२०२२

सिर्जना कलेज अफ फाइन आर्टसका आयोजनामा कला परिषद्मै आइतबारदेखि ‘सिर्जना –२०२२’ (सामूहिक कला प्रदर्शनी) पनि सञ्चालन भएको छ । सङ्गीत, लोकनृत्य, कला कार्यशाला पनि समावेश भएको सो प्रदर्शनीमा शशि शाह, मदन चित्रकार, राजेश गौतम, लोक चित्रकारलगायतका पुरानादेखि कृष्णगोपाल श्रेष्ठ, सम्झना राजभण्डारी, भावना मानन्धर आदि युवा कलाकारका चित्र समावेश गरिएको छ । प्रेम, अध्यात्म, संस्कृति आदिसँग सम्बन्धित चित्र राखिएको प्रदर्शनी शुक्रबारसम्म चल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया