बाँकेमा काँग्रेस ६, माओवादी केन्द्र र जसपाकाे एक/एकमा जित, एमाले शून्य

  जेठ ०८, २०७९

नेपालगञ्ज, जेठ ८ : यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले भने ८ वटामध्ये ६ वटा पालिकामा प्रमुख र उपप्रमुख तथा एउटा पालिकामा उपप्रमुख गरेर ७ वटा पालिकामा जित हासिल गर्न सफल भएको छ ।

गत निर्वाचनमा कुनै पनि पालिकामा विजय हुन नसकेको नेकपा माओवादी केन्द्रले भने यस पटक एउटा पालिकामा विजयी भएको छ । यसैगरी, गत निर्वाचनमा एउटा पालिका जित्न सफल भएको जनता समाजवादी पार्टीले भने यस पटक सो पालिकामा दोहोरिनुका साथै उपमहानगरमा उपप्रमुखमा जित हासिल गर्न सफल भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसले जित निकालेको छ भने खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ । नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टीले पुनः विजय भएको छ ।

राप्तीसोनारी गाउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका तप्त पौडेल र उपाध्यक्षमा पूर्णिमासिंह थारु, डुडुवा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नरेन्द्र चौधरी र उपाध्यक्षमा शाहिदा बानो, जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छब्बन खाँ, र उपाध्यक्षमा नेपाली काँग्रेसकै रामप्यारी यादव, बैजनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश शाह, उपाध्यक्षमा नेपाली काँग्रेसका निर्मला रोकाय, नरैनापुर गाउँपालिका अध्यक्षमा जसपाका मोहम्मद इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव विजयी हुनुभएको छ ।

यस्तै, माओवादी र काँग्रेसको गठबन्धन रहेको खजुरा गाउँपालिका अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा काँग्रेसका मन्जु मल्ल विजयी हुनुभएको छ । पाँचदलीय गठबन्धन रहेको नेपालगञ्ज उपमहानगरमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरका उम्मेदवार जसपाका कमरुद्दीन राई विजयी हुनुभएको छ ।

पहिलो पटक एमाले शून्य, राप्रपाको विरासत जोगिएन

२०७४ सालको निर्वाचनमा ४ पालिका जितेको एमालेले बाँकेमा पहिलो पटक यो निर्वाचनमा कुनै पनि पालिका जित्न सकेन । नेकपाको फुट र सत्तापक्षीय गठबन्धनका कारण एमाले जिल्लामा शून्यमा झरेको हो ।

एमाले अध्यक्ष केपी ओलीले निर्वाचन अघि करिब आधा दर्जन पटक नेपालगञ्ज पुगेर चुनावी रणनीति बनाउनुभएको र अन्य पार्टीबाट उम्मेदवार आयात गरेर ल्याए पनि एमालेले यहाँ कुनै पनि पालिका जित्न सकेन ।

पार्टीको फुट र गठबन्धनका कारण एमालेले पराजय भोग्नुपरेको जनाउँदै यसको विस्तृत समीक्षा गरिने एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । उहाँले फेरि पनि पार्टी सङ्गठन बलियो बनाउँदै शक्ति सञ्चयमा जुट्ने बताउनुभयो ।

यसैगरी, नेपालगञ्ज उपमहानगरमा राप्रपाले आफ्नो विरासत जोगाउन सकेन । राप्रपाका महामन्त्री डा. धवलशमसेर राणाले आफ्नो विरासत जोगाउन अन्तिम समयमा माओवादीबाट नन्दलाल वैश्यलाई पार्टीमा ल्याएर निर्वाचन लडाए पनि उहाँ तेस्रो स्थानमा रहनुभयो ।

तपाईको प्रतिक्रिया