धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमालेकी राना

  जेठ ०८, २०७९

धनगढी, जेठ ८ : सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका हुनुभएको छ । नेपाली काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुनुभएको हो ।

हमालले गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरी मेयरमा जित हासिल गर्नुभयो । विजयी हुनु भएका उहाँले २६ हजार ८६५ मत प्राप्त गर्नुभयो । पराजित वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभयो । यसअघि, २०७४ को निर्वाचनमा स्वतन्त्रबाटै चुनाव लड्नु भएका हमाललाई पराजित गरेर वड मेयरमा निर्वाचित हुनु भएको थियो । यसैगरी, नेकपा (एमाले) बाट मेयरका उम्मेदवार रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी हुनु भएको छ । रानाले १५ हजार ४७९ मत प्राप्त गर्नु भएको छ । उहाँले गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शान्ति अधिकारीलाई दुई हजार ८०९. मतान्तरले पराजित गर्नुभयो । पराजित हुनु भएकी अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभयो । गठबन्धनको विरोध गर्दै नेपाली काङ्ग्रेसका नेता प्रभाकर भण्डारीले स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिनु भएको थियो । त्यसको फाइदा नेकपा (एमाले) का उम्मेदवारलाई भएको छ । भण्डारीले छ हजार ६०९ मत प्राप्त गर्नुभयो ।

धनगढी उपमहानगरपालिकामा कुल ९३ हजार १५१ मतदाता रहेकोमा ६३ हजार ७१५ (६८.४० प्रतिशत) मत खसेको थियो । १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाको ११ वटा वडा अध्यक्षमा नेपाली काङ्ग्रेस, छ वटा वडामा नेकपा (एमाले) र दुई वटा वडामा नेकपा (माओवादी केन्द्र) ले वडा अध्यक्ष जितेको छ ।

तपाईको प्रतिक्रिया