काठमाडौंमा ९० हजार मत गणना : प्रमुखमा बालेन, उपप्रमुखमा सुनिता अगाडि

  जेठ ०७, २०७९

काठमाडौं, जेठ ७ : काठमाडौं महानगरपालिकाको ९० हजार ४४७ मत गनिसक्दा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३३ हजार २५५ मत प्राप्त गर्नुभएको छ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशव स्थापितभन्दा बालेन १५ हजार १९२ मतले अगाडि हुनुहुन्छ।

स्थापितले १८ हजार ६३  तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ९६३ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डंगोलले ३३ हजार २०१ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४६७ मत प्राप्त गर्नुभएको छ।

राष्ट्रिय सभागृहमा कामपाको मत गणना कार्य जारी छ। हालसम्मा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर ७, ९, १०, २३, २४, २५, २६, र ३१ को मत गणना भइरहेको छ।

कूल एक लाख ९१ हजार १८६ मतमध्ये अहिलेसम्म ९० हजार मत गणना सकिएको हो। एक सातादेखि सुरु भएको मतगणना  अझैसम्म आधासमेत सकिएको छैन। यो शैलीमा गणना गर्ने हो भने काठमाडौंको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुन अझै एक साता लाग्ने देखिन्छ।

तपाईको प्रतिक्रिया