वडाध्यक्षमा तीन महिला विजयी

  जेठ ०७, २०७९

वालिङ, जेठ ७ : स्याङ्जाका ९७ मध्ये तीन वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी हुनुभएको छ ।

स्याङ्जाको कालीगण्डकी २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिकाको ६ नं वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी हुनुभएको हो । कालीगण्डकी गाउँपालिका २ मा नेपाली कांग्रेसकी खगीसरा आले विजयी हुनुभएको छ । कांग्रेस र जनमुक्ति पार्टीबीच गठबन्धन भएको उक्त वडामा विजयी हुनुभएकी आलेले कूल एक हजार ३३३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम पाण्डेले ४३१ मत प्राप्त गर्नुभयो । उक्त वडामा कूल एक हजार ८९० मत खसेको निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै बिरुवा गाउँपालिका–३ को अध्यक्षमा माओवादी केन्द्रकी मनकुमारी थापा विजयी हुनुभएको छ । थापाले कूल ४९५ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका सन्तबहादुर आलेले ४१८ मत प्राप्त गर्नुभयो ।

उता चापाकोट नगरपालिका–६ मा कांग्रेसकी तारादेवी पोखरेल २१ मतान्तरले निर्वाचित हुनुभयो । विजयी हुनुभएकी पोखरेलले ४३६ प्राप्त गर्नुभएको हो भने उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ज्ञानेश्वर बस्ताकोटीले ४१५ मत ल्याउनुभयो । यसअघि २०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडाको अध्यक्षमा महिला निर्वाचित हुनुभएको थियो । फेदीखोला–५ मा देउकुमारी गुरुङ, अर्जुनचौपारी–४ मा जीतकुमारी चपाई र हरिनास–७ मा केशमाया थापा विजयी हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया