दमौली (तनहुँ), ६ कात्तिक : पर्यटनको मुख्य याम सुरु भएसँगै तनहुँको बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढेको छ । प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको दृश्य, परम्परागत नेवारी बस्ती र मौलिक संस्कृतिका कारण बन्दीपुर पर्यटकको रोजाइमा पर्दै आएको छ ।
बन्दीपुरमा जीप सफारी सञ्चालन गर्दै आउनुभएका वसन्त पौडेलले पर्यटकलाई मगर समुदायको बसोबास रहेको रामकोट गाउँसम्म पुर्याएर ग्रामीण जीवनशैली र संस्कृति अवलोकन गराउने गर्नुभएको छ । स्थानीय रहनसहन, प्राकृतिक वातावरण र आत्मीय आतिथ्यले पर्यटकलाई आकर्षित गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
होटल व्यवसायी किसान प्रधानका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायमा पनि चहलपहल थपिएको छ । जीप सफारीले बन्दीपुर बजारबाट आसपासका ग्रामीण बस्तीमा पुग्न सहज बनाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको छ ।
बन्दीपुरका प्रमुख आकर्षणमा खड्गदेवी, थानीमाई र महालक्ष्मीलगायत मन्दिर, सिद्धगुफा, टुँडिखेल, रानीवन तथा मणिमुकुन्द सेन पैदलमार्ग रहेका छन् । ग्रामीण पर्यटनको विस्तारले स्थानीय संस्कृति र पहिचानलाई पर्यटकमाझ चिनाउने अवसरसमेत बढाएको छ ।






