दोर्दीमा एमाले, राइनासमा कांग्रेस विजयी

  जेठ ०३, २०७९

लमजुङ, जेठ ३ : पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकामा नेकपा एमाले र राइनास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएका छन् । आज साँझ सम्पन्न मतगणनाअनुसार दोर्दीमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का लालबहादुर गुरुङलाई ८७ मतअन्तरले पछि पार्दै एमालेका युवराज अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

उहाँले चार हजार ७३८ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी गुरुङले चार हजार ६५१ मत प्राप्त गर्नुभयो । अध्यक्षमा निर्वाचित अधिकारीले संविधानसभा सदस्यसमेत रहनुभएका गुरुङलाई पराजित गर्नुभएको हो ।

त्यस्तै उपाध्यक्षमा गठबन्धन उम्मेदवार, कांग्रेस दोर्दी गाउँपालिका सभापतिसमेत रहनुभएका विच्छबहादुर घले चार हजार ९५८ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेकी उषा गुरुङले चार हजार १९० मत हासिल गर्नुभयो । दोर्दी गाउँपालिकामा १५ हजार ८४ रहेकामा १० हजार ४०६ मत खसेको थियो ।

त्यस्तै राइनास नगरपालिकामा सत्ता गठबन्धनतर्फ कांग्रेसका उम्मेदवार खड्गबहादुर गुरुङ एक हजार ५८३ मतअन्तरले विजयी हुनुभएको छ । उहाँले पाँच हजार ८२७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका सिंहबहादुर थापाले चार हजार २४४ मत प्राप्त गर्नुभएको छ । नगरप्रमुखमा पराजित थापा यसअघिका नगरप्रमुखसमेत हुनुहुन्छ ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार पुष्पराज खनाल पाँच हजार ८८७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शोभा पन्थी चिलवालले तीन हजार २३४ मत प्राप्त गर्नुभएको छ । राइनास नगरपालिकामा १५ हजार ९८९ मतदातामध्ये ११ हजार २३ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया