मनाइयो २५६६औँ बुद्ध जयन्ती

  जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६६औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु¥याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रूपमा उहाँले जन्म लिनुभएको थियो ।

राजकुमारका रूपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कनुभयो । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पु¥याउनुभयो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यसदिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । उहाँको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रूपमा पनि मनाएका छन् ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रूपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ । विगतका दुई वर्ष कोरानाबाट बच्न देशभर बन्दाबन्दी गरिएकाले बुद्ध जयन्ती भौतिक दूरी कायम गरी सीमित बौद्ध गुरुले चैत्य, गुम्बा, विहारलगायत धार्मिक स्थलमा पूजा आराधना गरी मनाएका थिए । यस वर्ष भने औपचारिक कार्यक्रम पनि गरिएको छ । लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आई पूजा, आराधना, ध्यानसहित औपचारिक कार्यक्रम भएको थियो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिएको थियो । यस अवसरमा नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाएका छन् ।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा पनि विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइएको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँड्नुभएको थियो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण ९मृत्यु० प्राप्त गर्नुभयो ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ ।

तपाईको प्रतिक्रिया