लाप्चाको आकर्षण बढ्दै

  जेठ ०२, २०७९

हुम्ला, जेठ २ : नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अहिले सात जना विदेशीसहित दस जना पर्यटक लाप्चातर्फ लागेका छन् । लिमी उपत्यकाको अवलोकन र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न ती पर्यटक सिमकोटबाट त्यसतर्फ लागेका हुन् ।

रिचा टुर एन्ड ट्राभलका पथप्रदर्शक असीम तामाङले सिमकोटबाट पैदल मार्ग हुँदै लिमी र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सात जना विदेशीसहितको टोली त्यसतर्फ लागेको जानकारी दिनुभयो । उक्त टोलीले पाँच दिन लगाएर लाप्च पुगी मानसरोवर कैलाशको दर्शन गर्नेछ । टोली पाँच हजार मिटर अग्लो न्यालु लेकको हिउँ छिचोलेर लाप्चातर्फ जान लागेको हो । उहाँले लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरेर लिमी क्षेत्रको पनि अवलोकन गर्ने बताउनुभयो । सातै जना विदेशी पर्यटक रसियाका हुनुहुन्छ ।

उहाँहरूमा तीन जना महिला र चार जना पुरुष रहनुभएको छ । मानसरोवर कैलाश चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्छ । हुम्लाबाट मानसरोवर जान सकिने भए पनि प्रतिकूल हावापानीका कारण सहज छैन । त्यसैले पछिल्लो समय नेपाली भूमि लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै गएको हो । वैशाख ४ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो ।

कोरोना महामारीपछि लाप्चा क्षेत्रबाट बाह्य तथा आन्तरिक पर्यटक गएर मानसरोवर कैलाशको दर्शन गर्ने सङ्ख्यामा वृद्धि भएको छ । कोरोना महामारीको पहिलो वर्ष लाप्चाबाट साढे तीन सय आन्तरिक पर्यटकले मानसरोवर, कैलाशको दर्शन गर्नुभएको थियो भने दोस्रो वर्ष साढे पाँच सय आन्तरिक तथा बाह्य पर्यटकले दर्शन गर्नुभएको थियो ।

गत वर्ष भदौमा भारतीय सद्गुरु जग्गी वासुदेवले पैदल मार्गबाट लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । उहाँको टोलीमा ५० जना विदेशी पर्यटक रहनुभएको थियो । सद्गुरुको लाप्चा भ्रमणपछि भारतीय पर्यटकको सातवटा टोली लाप्चा पुगेको थियो ।

तपाईको प्रतिक्रिया