दुई दिन विदामा पनि केही सरकारी अस्पतालले सेवा दिने

  जेठ ०१, २०७९

काठमाडौं, जेठ १ : सरकारले जेठ १ गतेबाट हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरे पनि केही सरकारी अस्पतालहरुले साे निर्णय कार्यान्वयन नगर्ने भएका छन् । आयुर्वेद चिकित्सालय नरदेवी, भरतपुर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग लगायतका अस्पतालले विभिन्न कारण देखाउँदै आइतबार विदा नदिने निर्णय गरेका हुन् ।

आइतबार आयुर्वेद चिकित्सालय नरदेवी अस्पतालले आइतबार अस्पताल बन्द नगर्ने निर्णय गरेको छ । सेवाग्राहीको हीत र स्वास्थ्यको मौलिक हकलाई मध्यनजर गर्दै चिकित्सालयको विकास समितिले आइतबार पनि बहिरङ्ग लगायतका सेवालाई सुचारु गर्ने निधो गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले साविक बमोजिम सेवा लिन सम्पूर्ण सेवाग्रहीमा अनुरोध गरेको छ । चितवनस्थित भरक्तपुर अस्पतालले पनि आइतबार विदा नदिने निर्णय गरेको छ । सार्वजनिक विदा भए पनि बिहान साढे ९ बजे देखि दिउँसो १ बजेसम्म न्यून शुल्क तिरेर चिकित्सकलाई जँचाउने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले हप्तामा दुई दिन विदा दिने निर्णय कार्यन्वयन गर्नका लागि आवश्यक गृहकार्य गर्नुपर्ने भएकाले अर्को निर्णय नभए सम्म आइतबार अस्पतालका सम्पूर्णय सेवा यथावत नियमित संचालन हुने अस्पतालले जनाएको छ ।

त्यसैगरी, महाराजगञ्ज स्थीत शिक्षण अस्पतालले पनि दुई दिन बिदा दिने नदिने भन्ने विषयमा कुनै निर्णय नभएकोले आइतबार सम्पूर्ण सेवा यथावत संचालन हुने अस्पतालले जनाएको छ । यस अघि, काठमाडौंको महारागञ्जस्थित कान्ति बाल अस्पतालले तत्काल दुई दिन विदा नदिने निर्णय गरेको छ । अस्पतालले बिहीबार सूचना जारी गर्दै दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यन्ययन गर्नका लागि आवश्यक गृहकार्य गर्नु पर्ने भएकाले तत्काल दुई दिन बिदा नदिने निर्णय गरेको जानकारी दिएको हो ।

अर्को निर्णय नभएसम्म आइतबार अस्पतालको सम्पूर्ण सेवा यथावत रुपमा नियमित तवरले सञ्चालन गर्ने सूचनामा उल्लेख गरेको छ । यसअघि, प्रदेश अस्पताल सुर्खेतले पनि आइतबार विदा नदिने निर्णय गरेको थियो । दुई दिन लगातार अस्पतालको ओपिडी सेवा बन्द हुँदा कर्णाली प्रदेशका विकट जिल्लाबाट स्वास्थ्य सेवा लिन आउने गरिव निमुखा बिरामीहरुलाई थप आर्थिक भार पर्नुका साथै समयमा नै सेवा लिन कठिनाई हुने भएकोले यस्तो निर्णय गरेको अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालले पनि आइतबार ओपिडी संचालन गर्ने निर्णय गरेको छ। अस्पतालमा आउनेबिरामीको चापलाई ध्यानमा राखी अस्पतालको अस्पतालको व्यवस्थापनले आइतबार पनि बहिरङ्ग सेवा यथावत संचालन गर्ने जनाएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै स्वास्थ्य क्षेत्रमा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने बहस सुरु भएको थियो ।

मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णयअनुसार गृह मन्त्रालयले वैशाख २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । हप्तामा दुई दिन विदा कार्यान्वयन भएपछि भने कार्यालय समय सोमबार देखि शुक्रबारसम्म बिहान ९ः३० देखि ५ः३० सम्म तोकेको छ ।

सरकारले कार्तिक १६ गते देखि माघ १५ गते सम्म कार्यालय समय ९ः३० देखि ४ः३० सम्म तोकेको छ । २०७९ मा निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक बिदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, लगायतले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलान आग्रह गरेको छ । यस्तै, सार्वजनिक विदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा विदा दिइने राजप्रत्रमा उल्लेख गरेको गोरखापत्र अनलाइनमा छ ।

तपाईको प्रतिक्रिया