स्वास्थ्यमन्त्रीद्वारा नर्स दिवसको शुभकामना सन्देश

  बैशाख २९, २०७९

हेटौँडा, वैशाख २९ : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले आज अन्तर्राष्ट्रिय नर्स दिवसको अवसर पारेर शुभकामना व्यक्त गर्नुभएको हो । मन्त्री लामाले नर्सका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित भएको बताउनुभएको छ ।

शुभकामना सन्देशमा मन्त्री लामाले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरुले दृढता, प्रतिबद्धता र इमान्दारीका साथ अहोरात्र खटेर सङ्क्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापनमा देखाएको सक्रियताका कारण नर्सहरुप्रति बिरामी र आम नागरिकको सम्मान र श्रद्धा बढिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

मन्त्री लामाले नर्सको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारमा उल्लेख्य प्रगतिका लागि बिरामीको आत्मबल बढाउन दिइने निरन्तर हौसलाको स्वास्थ्य क्षेत्रमा सधैँ नै आवश्यकता भइरहनेसमेत बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय जगतमा नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा विश्वव्यापीरुपमा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ । ‘नर्स नेतृत्वको लागि एक आवाज –विश्वव्यापी स्वास्थ्य सेवा सुरक्षित गर्नको लागि नर्सिंङ क्षेत्रमा लगानी गर्नुहोस्’ भन्ने नाराकासाथ आज विश्वव्यापी पमा मनाइँदैछ ।

तपाईको प्रतिक्रिया