रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने

  बैशाख २९, २०७९

वीरगञ्ज, वैशाख २९ : पर्साको बिन्दवासिनी गाउँपालिकाका नागरिकलाई उपचारका क्रममा आवश्यक रगत लिँदा लाग्ने प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र उक्त गाउँपालिकाबीच भएको सम्झौताअनुसार पालिकाले प्रयोगशाला परीक्षणवापत लाग्ने शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो ।

कुनै पनि बिरामीलाई अन्य व्यक्तिको रगत उपलब्ध गराउँदा व्यक्तिको स्वास्थ्यमा समस्या वा केही रोग छ वा छैन भनी व्यक्तिको रगतलाई प्रयोगशालामा परीक्षणपश्चात् मात्र बिरामीलाई उपलब्ध गराउने गरिन्छ । अब परीक्षण शुल्क पालिकले व्यहोर्ने गरी रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु शाहले जानकारी दिनुभयो ।

विशेषगरी गाउँपालिकाका विपन्न एवं गरिब समुदायका बिरामीलाई सहुलियत मिलोस् भन्ने उद्देश्यले सो सम्झौता गरिएको उहाँले बताउनुभयो । यसअगाडि पालिकावासीलाई उपचारका क्रममा रगत आवश्यक परेमा रेडक्रसले परीक्षणवापत लाग्ने शुल्क लिएर मात्र रगत उपलब्ध गराउने गरेको थियो ।

तपाईको प्रतिक्रिया