मतदान केन्द्र पुग्दै कर्मचारी र सुरक्षाकर्मी

  बैशाख २७, २०७९

वीरगञ्ज, वैशाख २७ : आसन्न स्थानीय तहका निर्वाचनका लागि बारा र पर्सा जिल्लामा निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्न थालेका छन् । निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी कर्मचारी खटाइएकामा उनीहरु आ–आफ्नो क्षेत्रमा पुग्न थालेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्सा जिल्लामा ४०४ मतदान अधिकृत र ४०४ सहायक अधिकृतसहित अन्य सहयोगी कर्मचारीलाई आवश्यक चुनाबी सामग्री विभिन्न मतदान केन्द्रमा खटाइएको हो ।

यस्तै जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सबै सुरक्षा निकायसँग समवन्य गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता सङ्ख््या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ ।

हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका जिल्लामा चौध पालिकाको निर्वाचनका लागि १६७ निर्वाचन केन्द्र र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया