कञ्चनपुरमा चुनावी तयारी तीव्र

  बैशाख २७, २०७९

कञ्चनपुर, वैशाख २७ : स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादकपदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाइएको हो ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ६(घ) एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार मादक पदार्थको ओसारपसार, बिक्री वितरणमा रोक लगाइएको छ । नियम विपरीत कार्य गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही हुनेसमेत जनाइएको छ ।

निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा नेपाल–भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ । निर्वाचनलाई मध्यनजगर गरी आजदेखि वैशाख ३० गते शुक्रबार मतदानकार्य सम्पन्न नभए सम्मका लागि जिल्ला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६(झ)एवं जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया