प्रमुख बन्ने तयारीमा वडाध्यक्षहरू

  बैशाख २७, २०७९

सप्तरी, वैशाख २७ : स्थानीय तहको निर्वाचनका लागि तीन दिन मात्र बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारको सक्रियता झनै तीव्र बन्दै गएको छ । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको काम, कर्तव्य र अधिकार पुरानो स्थानीय निकायको भन्दा व्यापक बनाइएको छ । अर्थात् स्थानीय तहलाई स्थानीय सरकारको अवधारणाअनुसार अघि सारिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत वडाध्यक्षले वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, कार्यान्वयन गर्ने–गराउने, अनुगमन र आवधिक समीक्षा गर्ने, घटना दर्तासहित विभिन्न सिफारिस तथा प्रमाणितसम्बन्धी कार्य गर्नेलगायतको प्रशस्त अधिकार र प्रयोग गर्न पाउने भएकाले पनि स्थानीयत तहमा पदाधिकारीको आकर्षण बढेको हो ।

अहिले यही स्थानीय सरकारको प्रमुख बन्ने दाउमा नगरप्रमुख र गाउँपालिका अध्यक्षका उम्मेदवार आफ्नो क्षेत्रभरि घुम्न मुस्किल भए पनि वडाध्यक्ष र सदस्यभने दोहोर्‍ययाएर आफ्नो वडा घुमेका छन् ।यस अघिको निर्वाचनमा देशभर छ हजार ७४३ वडाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाको १८ स्थानीय तहमा गत निर्वाचनबाट १६४ वडाध्यक्ष निर्वाचित भएका थिए । अहिले वडाध्यक्षका लागि जिल्लामा एक हजार दुई जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।

नगरप्रमुखमा प्रतिस्पर्धा गर्ने चार महिलासहित ९३ र गाउँपालिकामा प्रतिस्पर्धा गर्ने चार महिलासहित १०३ जना छन् । स्थानीय तहको नेतृत्वमा उम्मेदवारी दिनेमा १९६मध्ये पाँच जना गत निर्वाचनमा वडाध्यक्ष बनेका पनि छन् । पाँच वर्षमा गरेका काम र लोकप्रियताका आधारमा दलहरूले वडाध्यक्षलाई प्रमुख र अध्यक्षमा टिकट दिएको विष्णुपुर गाउँपालिका–६ का अशोक यादवले बताउनुभयो । प्रमुखमा टिकट नपाउनेहरूले वडाध्यक्षमै उम्मेदवारी दोहोर्‍ययाएको भने प्रशस्तै छ ।

शम्भुनाथ नगरपालिका–१ का वडाध्यक्ष भइसक्नुभएका इनरदेव साहले अहिले नगरपालिका प्रमुखमा उम्मेदवारी दिनुभएको छ । नेकपा (एमाले)बाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित उहाँले प्रमुखमा उम्मेदवारी पाउनुभएको हो । गएको चुनावमा ४४ मतले पराजित अर्का प्रतिस्पर्धी जितेन्द्रप्रसाद गुप्ता कलवारले नेकपा (एकीकृत समाजवादी)बाट पुनः नगरप्रमुखमा उम्मेदवारी दिनुभएको छ । जम्मा १२ वटा वडा रहेको नगरपालिकामा २३ हजार ८६३ मतदाता छन् । यो पालिकामा प्रमुख राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १० जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया