सभापति देउवाद्वारा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल

  बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपिल गर्नुभएको छ ।

उहाँले आज एक अपिल जारी गर्दै कांग्रेसको नेतृत्वमा दशकौँसम्म भएका लोकतान्त्रिक सङ्घर्षको अविराम यात्राका थुप्रै आरोह–अवरोह र चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैँ बनाउने अवसर प्राप्त गरेको उल्लेख गर्नुभएको छ । अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न उहाँले आह्वान गर्नुभएको छ ।

कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी छ । नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा कांग्रेसको निर्णायक भूमिका रहँदै आएको छ । “नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम हाम्रासामु छर्लङ्ग छ । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको हो र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे सबै जानकार नै छौँ”, उहाँले अपिल गर्नुभएको छ ।

अपिलमा भनिएको छ ‘‘कांग्रेस एउटा राष्ट्रिय सङ्कल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना ज्ञान र प्रविधिका जानकार जनशक्ति एवं राजनीतिक तथा शासकीय स्थिरताका लागि प्रतिबद्ध छ ।’’ कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युत्को उत्पादन, पूर्वाधार रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका सङ्कल्प कांग्रेसले लिएको सभापति देउवाले उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया