गाउँ फर्कंन थाले मतदाता

  बैशाख २७, २०७९

म्याग्दी, वैशाख २७ : स्थानीय तह चुनावको मिति नजिकिँदै जाँदा मतदाता आफ्नो नामावली भएको ठाउँ फर्कन थालेका छन् । पेशा, व्यापार, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा सहरबजार तथा छिमेकी देश भारत पुगेका चुनावमा मतदानका लागि गाउँ फर्किएका हुन् । काठमाडौँ, पोखरा, चितवन, बुटवललगायत देशका विभिन्न सहरबाट आउने गाडीमा यात्रुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ईन्द्रबहादुर नेपालीले चुनावका लागि मतदान गर्न देशका विभिन्न सहरबाट आउने र बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप बढेको जानकारी दिनुभयो ।

“अघिपछि आधा खाली आउने गाडीमा आज भरिभराउ यात्रु आएका छन् । गाडी रिजर्भ गरेर सिधैँ गाउँमा पुग्नेको सङ्ख्या पनि उत्तिकै छ,” उहाँले भन्नुभयो “चुनावको मिति नजिकिएसँगै मतदानका लागि गाउँ फर्कनेको चाप बढेको छ ।” नागरिकता र नामावली गाउँमै भएकाले चुनावका लागि गाउँ आएको पोखरामा बस्दै आएका धवलागिरि गाउँपालिका–८ का नारायण गर्बुजाले बताउनुभयो । धवलागिरि गाउँपालिका–७ की सिर्जना शर्माले पनि मतदानका लागि काठमाडौँबाट गाउँमा आएको बताउनुभयो ।

स्थानीय तह चुनावमा छिमेकी, आफन्त र चिनेजानेका व्यक्ति उम्मेदवार हुने भएकाले पनि मतदाताले चासो दिने गर्छन् । चुनावको मिति नजिकिएको र बजारबाट मानिस आउन थालेपछि चहलपहल बढेको धवलागिरि गाउँपालिका–७ ताकमका जीवन भण्डारीले बताउनुभयो । काठमाडौँ र पोखराबाट मतदाता ल्याउन केही उम्मेदवार तथा दलहरुले गाडीनै रिजर्भ गरेका बताइएको छ ।

थोरै मतान्तरले पनि जितहार हुनसक्ने भएकाले चुनाव प्रचारको कामलाई अन्तिम चरणमा पु¥याएका उम्मेदवारको ध्यान जिल्ला, पालिका र वडा बाहिर रहेका मतदाताप्रति गएको छ । केही उम्मेदवारले पार्टीको सिफारिस पाउने वित्तिकै मनोनयन दर्ता गर्नु अघिनै काठमाडौँ–पोखरामा पुगेर मत मागेका थिए । राजनीतिक दल सम्बद्ध सम्पर्क समितिले जिल्ला बाहिर प्रचारप्रसार गरेका छन् । छ स्थानीय तह र ४५ वटा वडा रहेको जिल्लामा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ जना मतदाता छन् । निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया