महोत्तरीमा निर्वाचनको अन्तिम तयारी

  बैशाख २७, २०७९

महोत्तरी, वैशाख २७ : स्थानीय निर्वाचनमा मतदानको मिति नजिकिँदै गर्दा दलहरुको व्यस्तता र छटपटी झनै बढेको छ । मतदानको दिन तीन दिनमात्र बाँकी छँदा दलका नेता र उम्मेदवारले घरघरै मतदाता भेट्ने क्रम झनै तीव्र बनाएका छन् । आज मध्यरात खुल्ला प्रचारको समय सकिनुपूर्व सबै बस्तीका घरदैलो विभिन्न दलका नेता र उम्मेदवार मतदाता रिझाउन तल्लिन छन् । मतदानको दिन तीन दिनमात्र बाँकी रहेका बेला निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आज मध्यरातपछि सीमाक्षेत्र (नेपाल भारत सीमा) को आउजाउ पूरै रोकिने जनाएको छ ।

“हामी भारतीय अधिकारीसँग सोझो सम्पर्क र समन्वयमा छौँ, अब आज मध्यरातबाट सीमाक्षेत्रको आउजाउ पूरै रोकिनेछ” प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भन्नुभयो,“सीमाक्षेत्रबाट हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ ।” महोत्तरी भारतीय जिल्ला मधुवनी र सीतामढीसँग सीमा जोडिएको छ ।जिल्लाका १५ स्थानीयतहमध्ये मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमा गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । कूल ३८ किलोमिटरको भारतीय सीमा क्षेत्रभित्र बस्तीपिच्छेका गौँडा र गोरेटो बाटोबाट हुने दोहोरो आउजाउ रोक्न स्थानीय प्रशासनलाई मुख्य चुनौती छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले भारतीय सुरक्षा अधिकारीसँग समन्वय भएको र यहाँ सबैजसो गौँडामा रेखदेख पुग्नेगरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको व्यवस्था गरिएको जानकारी दिनुभयो । आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न भारतका विभिन्न ठाउँमा काम गरिरहेका श्रमिक धमाधम घर फर्कँदैछन् । जिल्लाको मटिहानी, भिठ्ठामोर र सम्सी नाकाबाट पछिल्ला पाँच दिनयता दिनहुँ भारतबाट घर आउनेको सङ्ख्या एक हजारको हाराहारीमा पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्ण पँङ्गेनीले बताउनुभयो । आज साँझसम्म घर आउनेहरुले नेपाल प्रवेश पाउने भएका छन् ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहका १३८ वडामा गरी २५८ मतदानस्थलमा ४९७ मतदान केन्द्र रहने व्यवस्था गरिएको छ । सबै मतदानस्थल र मतदान केन्द्रमा मतदान गराउन निर्वाचन आयोगको जनशक्ति आज पुगिसक्ने जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि यसपाली महोत्तरीमा १८ हजार ४०६ नयाँ मतदाता थपिएका छन् । यसअघिको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनयता यो सङ्ख्या थपिएपछि यसपाली मतदाता सङ्ख्या तीन लाख ३६ हजार ९५ पुगेको छ । यसअघिको निर्वाचनमा तीन लाख १७ हजार ६८९ मतदाता थिए ।

तपाईको प्रतिक्रिया