नेपाल अपराजित रहँदै फाइनलमा : सोमबार पीएनजीसँग उपाधिका लागि भिडन्त

  चैत १९, २०७८

काठमाडौँ, चैत १९ : नेपाल अपराजित रहँदै त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले हरायो ।

उपाधिका लागि नेपालले सोमबार पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्नेछ । मलेसिया नेपालसँग पराजित भएपछि पीएनजीले नेट रनरेटका आधारमा मलेसियालाई पछि पारेको हाे । अपराजित नेपालले चार खेलबाट आठ अंक बनायो । पीएनजी र मलेसियाले दुई दुई अंक बनाए ।

दुई सय २४ रनको विशाल विजय लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटिएको थियो । मलेसियाका लागि ओपनर भिरेनदीप सिंहले सर्वाधिक ४७ रन बनाउनुभयो । कप्तान अहमद फैजले ३३, अईनुल हाफिजले १८ र सयद अजिजले १७ रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । कमल ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई दुई तथा कुशल भुर्तेल र रोहित पौडेलले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रनको विशाल योगफल प्रस्तुत गरेको थियो । नोपलका मध्यक्रममा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित शतकीय इनिङ्स खेलेपछि घरेलु टोलीले जितको आधार तय गरेको थियो । ऐरीले अविजित ११० रन बनाउनुभयो । उहाँले ५७ बलमा १० चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । उहाँ नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी बन्नुभएको छ । यसअघि पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी–२० मा शतक प्रहार गर्नुभएको थियो ।

नेपालका रोहित पौडेलले पनि ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । ३४ बलको सामना गर्नुभएका पौडेलले पाँच चौका हान्नुभएको थियो । ओपनरद्वय आशिफ शेख १८ र कुशल भुर्तेल १२ रनमा आउट हुनुभयो । आदील अन्सारीले १४ रन बनाउनुभयो । बलिङमा मलेसियाका लागि मुहमद वाफिक, पवनदीप सिंह, मुहमद अमिर र साजरुल इद्रुसले एक एक विकेट लिनुभयो । यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले मलेसियासँग प्रतिष्ठाको लडाई लडाई थियो । फाइनल खेल सोमबार हुनेछ ।

तपाईको प्रतिक्रिया