विराटनगर–बथनाहा रेलमार्ग : एक वर्षमा विस्तार सकिने

  मंसिर १३, २०७८

विराटनगर, मङ्सिर १३ : भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेलमार्ग विस्तार एक वर्षमा सम्पन्न गर्नेगरी काम अगाडि बढेको छ । रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको सात किलोमिटर दूरीबाहेकको कामसमेत ७० प्रतिशत सम्पन्न भएको छ । भारतको रेलवे स्टेसन बथनाहादेखि आईसीपी इन्डिन कस्टमसम्म पाँच किलोमिटर दूरीमा निर्माणको काम अन्तिम चरणमा भइसकेको छ ।

बुधनगरस्थित नेपाल कस्टर्म यार्ड र विराटनगर–१८ को लावाघाटसम्मको दुई किलोमिटर दूरीको कामसमेत सम्पन्न भइसकेको साइट इन्जिनियर रोशनकुमार देवले जानकारी दिनुभयो । लावाघाटदेखि मोरङको कटहरीतर्फको चार किलोमिटर दूरीमा ट्र्याक ओछ्याउने र त्यसपछिको आठ किलोमिटर दूरीमा ट्र्याक खोल्ने काम सकिएको इन्जिनियर देवको भनाइ छ ।

कटहरीस्थित महेशपुरमा रेलको अन्तिम स्टेसनको भवन निर्माण र बाँकी रहेको एक किलोमिटर दूरीको कामसमेत सुरु भएको उहाँले जानकारी दिनुभयो । विराटनगरको बुधनगरस्थित आईसीपीका लागि निर्माण गरिएको नेपाल कस्टर्म यार्डमा पैदल यात्रु हिँडडुल गर्न ओभर हेड ब्रिजको निर्माणसमेत सुरु गरिएको छ ।

कटहरी स्टेसनमा यार्ड र गोदामसहितका संरचना निर्माणका लागि स्थानीयवासीसँग सहमति गरिएको छ । मुआब्जामा चित्त नबुझाएका स्थानीयवासीसँग सर्वोच्चको आदेशअनुसार हुने सहमतिमा रेलमार्गको काम गर्न सहजीकरण गरिएको हो । अहिलेकै स्थिति रहेमा आगामी वर्षभित्रमा काम सम्पन्न गर्ने दाबी भारतीय निर्माण कम्पनी इरकोनले गर्दै आएको इन्जिनियर देवले बताउनुभयो ।

सरकारले रेलमार्ग निर्माणका लागि ५६५ जग्गाधनीबाट ११९ बिघा जमिन अधिग्रहण गरेको थियो । जसमध्ये अब तीनवटा कित्ता जग्गा मात्रै रेल विभागको स्वामित्वमा आउन बाँकी छ । मुआब्जामा चित्त नबुझाएका कटहरी–१ का २२ घर स्थानीयवासीले अदालतको आदेशअनुसारको निर्णय मान्न तयार भएर निर्माणको काम गर्न दिने सहमति दिएको इन्जिनियर देवले बताउनुभयो ।

बुधनगरको नेपाल कस्टम यार्डसम्म २०७५ कात्तिक १८ गते रेलको लिकमा रेल इन्जिनसमेत परीक्षण गरिसकिएको थियो । त्यहाँसम्म रेल ल्याउन सकिने विषयमा सरकारीस्तरमा छलफल भइरहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशीराज दाहालका अनुसार रेलमार्ग विस्तार र प्रगतिको विषयमा मङ्गलबार सम्बन्धित क्षेत्रका अधिकारीसँग छलफल बोलाइएको बताउनुभयो । उहाँले पछिल्लो समय आशालाग्दो गरी निर्माणको काम भइरहेको बताउनुभयो ।

रेल विभागबाट बथनाहा–कटहरी रेल मार्ग विस्तार परियोजनाका लागि साइट इन्जिनियर तोकिनुभएका देवका अनुसार सरकारको माथिल्लो स्तरमा बुधनगरसम्म मालवस्तु बोकेको रेल ल्याउने विषयमा छलफल चलिरहेको छ । विराटनगरका उद्योगी व्यवसायीले बुधनगरसम्म कन्टेनरमा मालवस्तु बोकेर आएको रेललाई ल्याउन पहल गरिदिनुपर्ने माग गर्दै आएका छन् । परियोजनाको कुल लागत तीन अर्ब भारतीय रुपियाँ रहेको छ ।

तपाईको प्रतिक्रिया