प्राचीन कपिलवस्तुको गुरुयोजना अन्तिम चरणमा

  मंसिर ०७, २०७८

कपिलवस्तु, मङ्सिर ५ : सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट (प्राचीन कपिलवस्तु)को गुरुयोजना अन्तिम चरणमा पुगेको छ । भगवान् बुद्धको गृह नगरलाई विश्वस्तरीय सम्पदा सहरको रुपमा विकास गर्ने उद्देश्यका साथ गुरुयोजना तयार गरिन थालिएको हाे ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेत्याले गुरुयोजना अन्तर्गत बन्न लागेका संरचनाको तस्बिर हिजाे शनिबार सार्वजनिक गर्नुभएको हाे । तिलौराकोटसहित गोटीहवा, कुदान, निग्लिहवा, सिसहनिया, जगदीशपुर ताललगायतका क्षेत्रमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तीन वर्षदेखि गुरुयोजना निर्माण गर्न लागिएको थियो ।

प्रारम्भीक लागत २० अर्ब लाग्ने देखिएको छ । लगानीको मोडेल र नदी तटीय क्षेत्रको जोखिम समेत भएकाले अन्तर्राष्ट्रिय विज्ञको समेत परामर्श लिई दुई महिनाभित्र गुरुयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने उपाध्यक्ष भिक्षु मेत्तेत्याले बताउनुभयो । गुरुयोजना निर्माणका लागि आर्किटेक इन्जिनियर डा. सन्जय उप्रेती र उहाँको समूहले काम गर्दै आएको थियो ।

तिलौराकोट दरबारदेखि, सगरहवा, जगदीशपुर तालसम्म ऐतिहासिक भागीरथी (वर्तमान बाणगंगा) नदी समेटेर तयार हुन लागेको गुरुयोजनाले प्राचीन कपिलवस्तुको मुहार फेर्ने योजनाको रुपमा लिएको भिक्षुका स्वकीय सचिव भोला गुप्ताले बताउनुभयो । लुम्बिनी गुरुयोजनाबाट सकेर स्थानीय बासिन्दालाई पर्खाल बाहिर मात्र नराखेर सबै समावेशी सहरको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । त्यहाँ विश्व बौद्धग्राम संग्रहालय बन्ने छन् ।

गुरुयोजना अन्तर्गत तीनवटा सुविधा सम्पन्न होटेल निर्माण हुने छन् । होटेलको स्वरुप सिद्धार्थ गौतम बुद्धका लागि निर्माण गरिएको दरवार रम्य, सुरम्य र शुभ दरवारको झल्को दिनेछ । जगदिशपुर तालदेखि रामघाट पुलबीचको करिब ८ किलोमिटर बाणगंगा नदीको तटीय क्षेत्रमा बुद्धकालिन व्यक्तित्वका सालिक र स–साना पार्क निर्माण हुनेछन् । २५० मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रिय विपश्यना ध्यान केन्द्र, ५०० क्षमताको अन्तर्रास्ट्रिय बौद्ध अध्ययन केन्द्र, २० फिट लामो घाट क्षेत्र समेत निर्माण हुनेछ । योजनाको कुल लागत २० अर्ब लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया