गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा आउँछ : गृहमन्त्री

  कार्तिक ०१, २०७८

भैरहवा, कात्तिक १ : गृहमन्त्री बालकृष्ण खाणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले सार्थक पहल गरिरहेको बताउनुभएको छ । विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडि बढाएर विमानस्थल शीघ्र सञ्चालनमा ल्याउनका लागि सरकारले प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

गृहमन्त्री भएपछि पहिलोपल्ट सोमबार गृहजिल्ला रुपन्देही आउनुभएका खाणले भैरहवामा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार जाँच चौकीको विकासको लागि कार्ययोजना तयार पारेको पनि जानकारी दिनुभयो । “विमानस्थल सञ्चालन र एकीकृत जाँच चौकीको कार्ययोजना सरकारले तयार पारेको छ, अव कार्ययोजना अनुसार काम अगाडि बढ्छ”–उहाँले भन्नुभयो ।

फरक प्रसंगमा गृहमन्त्री खाणले ठूलो दललाई सरकार चलाउनुस् भनेर जनताले म्याण्डेट दिएपनि विगतको सरकारले आफ्नै पार्टीभित्रको झगडाका कारण पाँच वर्षे कार्यकाल पुरा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो–“नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएको थिएन्, काँग्रेसलाई आरोप छ कि काँग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ ।” यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि अहिलेको निकासका लागि सभापति अग्रसर बनिदिनुस् भनेर अन्य पार्टीका नेताहरुको अग्रसरतामा नयाँ गठबन्धन बनेर अगाडि बढेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले पार्टीको १४ औं महाधिवेशन सफल पार्नुपर्ने बताउनुभयो । उहाँले महाधिवेशन अन्तर्गत वडा तथा स्थानीय तहको अधिवेशनमा अधिकांश स्थानमा सहमतिमै नेतृत्व चयन भएको बताउनुभयो । अहिले नेपाली काँग्रेसको काँधमा जिम्मेवारी र चुनौती रहेकाले जिम्मेवारी पुरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । अहिलेको विषम परिस्थितिमा काँग्रेसप्रति आकर्षण बढ्दै गएको र मुलुकभर क्रियाशिल सदस्यको संख्या १० लाखको हाराहारीमा पुगेको नेता खाँणले बताउनुभयो ।

उहाँले रुपन्देहीको विकासका लागि आफू प्रयत्नशील रहेको पनि बताउनुभयो । बेलहिया नाकालाई व्यवस्थित बनाउनका लागि अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरुलाई आफूले आग्रह र छलफल गरेको मन्त्री खाँणले बताउनुभयो । उहाँले भैरहवा भन्सारमा रहेको पार्किङ समस्याले असहजता भएको र यसको समाधानको लागि अल्पकालिन र दीर्घकालिन परियोजना आवश्यक रहेकोले सोही अनुसार अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं काँग्रेस नेता वसिउद्दिन खान, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति सरिता चौधरीलगायतले काँग्रेस जनताको साथमा रहेको र पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया