पाँच महिनापछि खुल्यो तातोपानी कुण्ड, उपचारमा आउनेको भीड

  असोज १३, २०७८

म्याग्दी, असोज १३ : म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत वैशाखको तेस्रा देखि तातोपानी कुण्ड बन्द गरिएको थियो ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको भन्दै प्राकृतिक चिकित्सालयका रुपमा रहेको तातोपानी कुण्डलाई प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न अनुमति दिएको छ । अहिले दैनिक डेढसय देखि दुईसयको हाराहारीमा विरामीहरुले कुण्डमा स्नान गर्न आउने गरेका छन् । विरामीको चापलाई ख्याल गरेर सकेसम्म भीडभाड नहोस भनेर आलोपालो गरेर ढुब्ने व्यवस्था मिलाइएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो ।

कुण्डमा उपचारका लागि आउने विरामीहरुले अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने नियम बनाइएको उहाँले बताउनुभयो । कुण्डमा प्रवेश गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र भीडभाड गर्न नहुने नियमलाई कडाइका साथ कार्यन्वयन गरिएको उहाँले बताउनुभयो ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ ।

तपाईको प्रतिक्रिया