नेपालमा पहिलो पटक ‘युरोपियन रोलर’ प्रजातिको चरा मुस्ताङमा भेटियो

  असोज ०४, २०७८

बेनी, असोज ४ : नेपालमा पहिलो पटक युरोपेली रोलर नामको नयाँ चराको प्रजाति रेकर्ड गरिएको छ । नयाँ प्रजाति उक्त चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका–५ स्थित अन्नपूर्ण संरक्षण क्षेत्रको तीन हजार ७८१ मिटरको उचाइमा रेकर्ड गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले आज जनाएको हो ।

संरक्षण क्षेत्रका कर्मचारी रामबहादुर गुरुङले गत अगस्ट २९ मा पहिलो पटक नयाँ प्रजातिको चराको फोटो खिच्नुभएको थियो । दोस्रो दिनपछि पनि पुनः उक्त चरा देखिएपछि उहाँले थप प्रमाणीकरणका लागि फोटो सम्बन्धित निकायमा पठाउनुभएको कोषले जनाएको छ ।

कोषको अन्नपूर्ण संरक्षण क्षेत्र मुस्ताङका प्रमुख ऋषि बरालले नयाँ चराको प्रजातिबारे पहिचान र प्रमाणीकरणका लागि प्रक्रिया अघि बढाउनुभएको थियो भने चराविद्हरू डा हेमसागर बराल, सोम जिसी, टिम इन्सकिप्प र करोल इन्सकिप्पको समूहले प्रमाणीकरण गर्नुभएको थियो । पछिल्लो थप भएसँगै संरक्षण क्षेत्रमा ५१९ प्रजातिका चरा रेकर्ड भएका छन् ।

तपाईको प्रतिक्रिया