हनुमानढोका सङ्ग्रहालय सर्वसाधारणका लागि खुला

  भदौ २८, २०७८

काठमाडौँ, भदौ २८ : कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण बन्द गरिएको हनुमानढोका दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीको कारण गत बैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द थियो ।

हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले कोभिड–१९ को महामारी सामान्य हुँदै गएपछि दरबार सङ्ग्रहालय खुला गरिएको जानकारी दिनुभयो । उहाँले सरकारद्धारा कार्यान्वयनमा ल्याइएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सङ्ग्रहालय खुला गरिएको बताउनुभयो । सार्वजनिक विदासहित हप्ताको सातै दिन सङ्ग्रहालय खुला रहनेछ ।

उहाँले भन्नुभयो, ‘‘मुख्य सङ्ग्रहालय भवन पुनर्निर्माण सम्पन्न भइसकेपछि सङ्ग्रहालय भवन पूर्णरुपमा सञ्चालनमा आउने नै छ । पूर्णरुपमा सञ्चालनमा नआएसम्मका लागि अहिले ढुकुटी भवनमा गरगहना प्रदर्शनीसहित अन्य चोकको अवलोकनको व्यवस्था मिलाइएको छ ।’’ कुनै महामारी वा बन्दाबन्दी नभएको अवस्थामा सङ्ग्रहालय अब नियमित खुला रहने छ ।

तत्कालको लागि पुरानो गरगहना सम्बन्धीको प्रदर्शनी खुला गरिएको छ । त्यसैगरी, अहिले दरबारभित्र रहेको नासल चोक, लोहः चोक, पुतली बगैचा अवलोकनको लागि खुला गरिएको छ । त्यसैगरी, राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गरिएको गाडी समेत प्रदर्शनीमा राखिएको छ । २०२८ साल माघ ९ गते महेन्द्रमाथि जनकपुरको जानकी मन्दिर परिसरमा बम प्रहार गरिएको थियो ।

टिकटमा एकरुपता
हनुमानढोका दरबार सङ्ग्रहालयले अवलोकनको लागि सबै विदेशीको लागि टिकट दरमा एकतारुपता ल्याएको छ । सबै विदेशीको लागि असोज १ गतेबाट हुने गरी तीन सय रुपियाँ टिकट निर्धारण गरिएको सङ्ग्रहालय प्रमुख खनालले जानकारी दिनुभयो । नेपाली आगन्तुकलाई ३० रुपियाँ टिकट तय गरिएको छ ।

तपाईको प्रतिक्रिया