पोखराका अल्ट्रालाइट सञ्चालनमा

  भदौ ०५, २०७८

पोखरा, भदौ ५ : कोरोना भाइरस कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द पोखराका अल्ट्रालाइट शुक्रबारबाट पुनः सञ्चालनमा आएका छन् । पुतली जहाजका रूपमा परिचित अल्ट्रालाइट पोखरा घुम्न आउने पर्यटकका लागि मुख्य आकर्षणका रूपमा रहेको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिन थालेको दुई वर्षको अवधिमा दुई पटक गरी १२ महिना अल्ट्रालाइटको उडान बन्द भएको थियो । त्यसअघि एभिया क्लब, फिस्टेल अल्ट्रालाइट, पोखरा अल्ट्रालाइट र हेलिएयर नेपालले अल्ट्रालाइट सञ्चालन गर्ने भएपछि पनि अहिले पोखरा अल्ट्रालाइटले मात्र उडान सुरु गरेको छ ।

पोखरा अल्ट्रालाइटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले सुरुको दिन शुक्रबार परीक्षणका रूपमा दुईवटा उडान भरिएको जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको त्रास रहिरहेकाले अल्ट्रालाइटलाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकका लागि अल्ट्रालाइटमा उडान भर्नु गौरवको विषय हुने भएकाले यसको व्यावसायिक उडानको तयारी थालिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार पोखरामा सञ्चालित विभिन्न चारवटा कम्पनीसँग १६ वटा अल्ट्रालाइट (पुतली जहाज) रहेका छन् ।

पोखरामा हवाई उडान, सार्वजनिक यातायात सञ्चालन, होटल सञ्चालन हुन थालेपछि सुस्ताउँदो पर्यटन व्यवसायलाई उकास्नका लागि अल्ट्रालाइटको उडान सुरु गरिएको श्रेष्ठले बताउनुभयो । “पोखरा पर्यटकीय राजधानी, तालहरूको सहर, नजिकै लहरै देखिने हिमशृङ्खलाका कारण प्रख्यात छ । हामीले पर्यटकलाई पोखराका प्रमुख पर्यटकीय स्थलसँगै हिमशृङ्खलाहरूको अवलोकन गराउँछौँ,” श्रेष्ठले भन्नुभयो ।

नागरिक उड्डयन प्राधिकरण मातहत पोखरामा २५ वर्ष अगाडिदेखि अल्ट्रालाइट सञ्चालन हुँदै आएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन नभएकाले आन्तरिक पर्यटकलाई छ हजार पाँच सय रुपियाँ सहुलियत दरमा पोखराका पर्यटकीय स्थल, हिमशृङ्खलाको अवलोकन गराउने गरी उडान सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया