लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न गृहको निर्देशन

  साउन ०८, २०७८

काठमाडौं, साउन ७ : गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मंगलबार मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालसम्बन्धी अन्यन्त जरुरी सूचना प्रकाशित गर्दै यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

‘त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मध्यम र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आवश्यक सहजीकरण गर्न अनुरोध छ ।,’ गृहका शाखा अधिकृत रामबहादुर केसीले प्रकाशित गरेकाे परिपत्रमा लेखिएको छ ।

साउन ४ मा मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक निर्णय भएको उक्त पत्रमा उल्लेख छ । यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरले लामो दूरीको सार्वजनिक यातायात सञ्चालनबारे शुक्रबार टुंगो लाग्ने बताएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघ, ललितपुरका महासचिव योगेन्द्रनाथ कर्माचार्यले लामो दूरीको यातायात सञ्चालनबारे भोलि टुंगो लाग्ने बताउनुभयो । ‘यस विषयमा छलफल गर्न भोलि १ बजे जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइएको छ । यसपछि लामो दूरीको यातायात सञ्चालन गर्ने वा नगर्ने भन्ने टुंगो लाग्छ,’ उहाँले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो ।

कोरोना महामारीको सङ्क्रमणको दोस्रो लहर नियन्त्रण र रोकथामको लागि काठमाडौं उपत्यकाभित्र र बाहिरी जिल्लाबाट सार्वजनिक यातायात प्रवेश गर्न दिइएको छैन । तर, उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायात सञ्चालनमा आइसकेका छन् । त्यस्तै, साउन १ गते बसेको काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख अधिकारीहरुको बैठकले अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने निर्णय गरेको थियो । तर, लामो दूरीको यातायात सञ्चालन गर्नेबारे उक्त बैठकले कुनै निर्णय गरेको थिएन ।

तपाईको प्रतिक्रिया