घरमाथि पहिरो चल्न थाल्यो, रातभर सुत्दैनन् स्थानीय

  साउन ०२, २०७८

म्याग्दी, साउन २ : म्याग्दीको गलेश्वर पारीको वस्ती पहिरोको उच्च जोखिममा परेको छ । रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको वस्ती माथिको पाखोबाट पहिरो खस्दा यहाँ रहेका ३० घरपरिवार जोखिममा परेका हुन ।

भिरालो पाखो लस्किएर वस्तीमाथि आइपुगेको छ । पहिरोको कारण स्थानीयवासीहरु रातमा निदाउन पाएका छैनन् । कतिबेला पहिरो खस्छ र वस्ती नै पुर्ने हो भन्ने चिन्ताले यहाँका स्थानीयवासीहरु चिन्तीत छन् ।

गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा वस्ती नै पहिरोको जोखिममा परेको स्थानीयवासीहरु बताउँछन् । गत वर्ष देखि सडक निर्माण थालिएको थियो । कमजोर र भिरालो जमिनमा जथाभावि रुपमा सडक बनाउँदा पहिरो चलेको स्थानीयवासीहरु बताउँछन् ।

सडक बनाउदा प्रर्याप्त सावधानी नअपनाएका कारण वस्तीमाथि पहिरो खस्न थालेको स्थानीयवासी गंगादेवी छन्त्यालले बताउनुभयो । कमजोर भुभागमा सडक बनाउन डोजरले जथाभावि भत्काउनु र त्यसपछि संरक्षण र रोकथामको काम नगरेका कारण पुरै पाखो खस्न थालेको स्थानीयवासी छन्त्यालले बताउनुभयो ।

वर्षौ देखि वसेको घर छाडेर हिड्नुपर्ने अवस्था आउन लागेको छ छन्त्यालले भन्नुभयो, ‘वस्ती माथिको पाखोबाट खसेको पहिरोले घर पुर्न आटीसकेको छ । दुईमहिना यता रातीमा निदाउन पाएका छैनौं ।’ ‘३५ वर्ष देखि यहि ठाउँमा बसीयो अव कहाँ जाने पहिरोले घर च्यापीसकेको छ , हामीलाई सुरक्षित स्थानमा राखिदिए ज्यान जोगिनन्थ्यो की ।’–छन्त्यालले भन्नुभयो ।

अघिल्लो वर्ष अलिअलि पहिरो चलेको थियो हिउँदमा संरक्षणको काम नगर्दा अहिले बर्खामा त पुरै माथिको पाखो चलेर आउन थालको छ स्थानीयवासी निर्मला शाहीले भन्नुभयो, ‘ पहिरोले घर नै पुर्न थालेपछि भाडाको घर खाजेर अन्यत्र बस्न थालेका छौं ।’ कतिबेला माथिबाट पहिरो आउने हो ठेगान छैन पुरै पाखो चलेको छ । ज्यान जोगाउन भाडाको घर खोजेर बसेका छौं शाहीले भन्नुभयो ।

वस्ती जोगाउन संरक्षणको काम गर्नका लागि गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि कुनै काम नभएको स्थानीयवासीहरु बताउँछन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसकेका काराण वस्ती जोखिममा परेको गलेश्वरवासीहरुको भनाई छ । सडक निर्माण गर्दा लापरबाही भएका कारण वस्ती जोखिममा परेको र सडक पनि दिगो नभएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया