बाढी पहिरोले ठाउँठाउँमा कटान, सञ्चालनमा समय लाग्ने

  असार ०४, २०७८

बेनी, असार ४ : राष्ट्रिय महत्वको कालिगण्डकी करीडोर सडक अन्तर्गतको बेनी जोमसोम सडक खण्ड लगातारको वर्षात्को कारणले ठाउँठाउँमा पहिरो र बाढीले ध्वस्त भएको छ । चार दिनसम्म लगातार परेको वर्षात्ले गर्दा बेनी–जोमसोम सडक खण्डको धेरै ठाउँमा कालिगण्डकीले सडक कटान गर्नुका साथै माथिबाट झरेको पहिरोले क्षति पु-याएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीका अनुसार बेनी–जोमसोम सडकको भूरुङतातोपानीमा सडक बगेको छ भने गुइठे तथा रुप्से झरनामा पनि सडक अबरुद्ध छ । सडकमा सवारी सञ्चालनमा ल्याउनका लागि समय लाग्न सक्ने प्रहरी निरीक्षक के.सी.ले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–२ भुरूङ तातोपानीमा बिहिबार बेलुकादेखि कालिगण्डकी नदीले ट्रयाक समेत नरहने गरी सडक कटान गरेको छ । उक्त सडकलाई सवारी सञ्चालन गर्न सक्ने अवस्थामा ल्याउनका लागि समय लाग्ने देखिन्छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्से झरना र मुस्ताङको सिमाना काभ्रेभीरमा बेस सहित नै सडक बगेको छ । पहिरोले सडकमा निकै ठूलो क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
‘बाढीपहिरो र कटानले धेरै स्थानमा सडक ध्वस्त भएकोले मर्मतमा समय लाग्छ’ अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । बेनी–जोमसोम सडक तातोपानी क्षेत्रमा कालिगण्डकीको सतहसँगै रहेकोले वर्षेनि सडकमा क्षति हुने गरेको छ । काभ्रे भिरमा बेस सहित सडक बगेकोले सडक मर्मत गरेर सवारी सञ्चालनमा ल्याउनका लागि समस्या देखिएको व्यवसायी शेरचनले बताउनुभयो । शेरचनका अनुसार अहिले तातोपानी, रुप्से र काभ्रे भिरको सडक मर्मतका लागि समस्या देखिएको छ ।

बर्षा तथा पहिरोले गर्दा रुप्से झरनामा चारदिन सम्म अड्कीएको बा १८ च ६९६२ को हाइलक्सलाई बिहिबार बेलुका निकालिएको छ । हिलाम्मे सडकले पैदलयात्रीलाई समेत सकस भएको स्थानीयको भनाई छ । सडकखण्डमा रहेका दर्जनौ ठाडो खोलाको कटानले समेत सडक मर्मतलाई चुनौती थपिदै गएको छ । यस वर्ष हिमालपारीको जिल्ला मुस्ताङमा पनि अहिले सम्मकै उच्च वर्षाभएकोले गर्दा कालीगण्डकी नदिमा बाहब बढेर सडक कटान गरेकाले बेनी–जोमसोम–कोरला सडक आयोजना र ठेकेदार कम्पनीलाई समेत मर्मतमा समस्या भएको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दाना देखि मुस्ताङको घाँसासम्म पर्छ । बर्षाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । असारदेखि भदौ महिनासम्म बेनी–जोमसोम नियमित र सिधा सञ्चालनमा आउने सम्भावना न्यून रहेको प्राविधिक पक्षको भनाई छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार बेनी जोमसोम सडक खण्डको काभ्रे भिरमा १५ मिटर बेस गएकोले मर्मतका लागि समय लाग्ने भएको छ । मुस्ताङबाट बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन पर्ने अवस्था आएमा हवाइ तथा स्थल कुनै पनि मार्ग नभएकाले निकै समस्या हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया