‘होटलमा ढोका बन्द गरे, ३६ घण्टासम्म पानीका भरमा एम्बुलेन्स चलाएँ’

  जेठ २४, २०७८

बेनी (म्याग्दी) जेठ २४ : ‘‘भर्खर खाना खानबसेको थिएँ फोन आयो, एक गाँस के खाएको थिएँ भात छाडेर अस्पताल पुगिहाँले । यस्तो त धेरै पटक भयो । कोरोना संक्रमित विरामीलाई छिटो अस्पताल पु-याउन सके बचाउन सकिन्छ की भन्ने आशा हुन्थ्यो । खाना खाएर आउँछु भन्ने हुँदैन थालको भात छाडेर कुदिहाल्नुपर्दछ ।’’

यि माथिका भनाईबेनी अस्पतालका एम्बुलेन्स चालकका हुन । कोरोना महामारीका समयमासंक्रमितलाई अस्पतालसम्म पु-याउने मुख्य काममा खटिएका एम्बुलेन्स चालकहरु भोक तिर्खा नभनी सेवामा खटिन्छन् । बेनी अस्पतालमा दुईवटा एम्बुलेन्स छन् । अस्पतालले रिफर गरेका विरामीरुलाई पोखरा र काठमाडौंका अस्पतालसम्म पु-याउने काम तिनैको हुन्छ । एम्बुलेन्स चालकहरु पनि कोभिड महामारी विरुद्ध फ्रन्टलाइनमा बसेर काम गर्नेहरु हुन ।

‘कोरोना महामारीका समयमा ३६ घण्टासम्म पानी मात्र खाएर पनि एम्बुलेन्स कुदाएको छु । खान खाने समय नै मिल्दैन । बाटोमा हामीलाई देखेर होटलवालाले पनि ढोका बन्द गरे । पानीको भरमा विरामी राखेर एम्बुलेन्स काठमाडौंसम्म पु-याएको छु’’ बेनी अस्पतालको एम्बुलेन्स चालक गोपी गौतमले भन्नुभयो, ‘घरमा थालको भात छाडेर हिडियो बाटोमा खाना पाइएन पानीकै भरमा ३६ घण्टा भन्दा बढी एम्बुलेन्स चलाउनुप¥यो ।’ यस्तो त यो महामारीका बेला धेरै पटक भोगियो उहाँले अनुभव सुनाउनभयो । हाम्रो पनि धेरै दुःख छ नी कसले बुझिदिने उहाँले दुखेसो पुख्नुभयो ।

‘‘कयौं दिनसम्म पनि राम्रो सँग खाने र सुत्न पाइँएन । निद्रा पनि नभनि एम्बुलेन्स हाँक्नुपर्दथ्यो । सारै निद्राले च्यापेर निद्रा भगाउन एकदिन त लगाएको कपडा समेत पानीमा भिँजाएर चिसो बनाई लगाइयो ।’’ रेडक्रस म्याग्दीको एम्बुलेन्स चालक केशर शेरपुञ्जा मगरले अनुभव सुनाउनुभयो,‘यस्तो त यो बीचमा धेरै पटक भोगेँ ।’ कोरोना संक्रमित विरामीलाई कतिबेला अस्पताल पु-याउने चिन्ता मात्र हुन्छ । चाँढो अस्पताल पु-याउनु पाएँ बचाउन सकिन्छ की भन्ने आशा हुन्छ । खाने र सुत्नु त ठेगान नै हुँदैन मगरले सुनाउनुभयो ।

कोरोनाको जोखिम मोलेर भएपनि सेवामा खटिएका छन् एम्बुलेन्स चालकहरु । बेनी अस्पतालले पोखरा र काठमाडौंका अस्पतालमा रिफर गरेका विरामीहरुलाई बोक्ने काम यी एम्बुलेन्स चालकहरुले गरे । अक्सिजन सहितको व्यवस्था भएका यी दुई एम्बुलेन्स विरामीको सेवाका लागि २४ सै घण्टा कुदेँ ।

पोखरा र काठमाडौं पु¥याएका विरामीहरलाई अस्पतालमा बेडको व्यवस्था समेत यी चालक आफैले गर्नुपर्दथ्यो । अस्पतालमा बेड नपाएर घण्टौं सम्म बेडको खोजीमा भौतारिनुपर्ने पीडा भएको उनीहरुले सुनाए । ‘‘एम्बुलेन्स भित्रै विरामी मर्नै आँटेको छ अस्पतालमा बेड पाँइदैन । आफन्तहरु रोइकराउन थालेका छन् । कसरी बचाउँने ? विरामी छाडेर हिड्नु पनि भएन नि । जसोतसो गरेर बेडको व्यवस्था गरे ।’’ एकदिनको घटना सुनाउँदै चालक शेरपुञ्जा मगरले भन्नुभयो ।

कोरोना महामारीको सुरु सुरुमा त बाटोमा हामीलाई देख्दा पनि मानिसहरु भाग्ने गर्दथे । अहिले भने सवैले बुझन थालेकाले केही सहज भएको उहाँले बताउनुभयो । तर अझै पनि सहज तरिकारले बाटोमा खाना खान पाइँदैन उहाँले भन्नुभयो । कहीले काही त चालक आफैले संक्रमित विरामीको हेरचाह र स्यारसुसार गर्दै लैजानुपर्ने हुन्छ । कोरोना सर्ला भनेर आफन्त समेत डराउँछन् यस्तो बेलामा आफैले सवै काम गर्दै एम्बुलेन्स चलाउनुपर्ने मगरले बताउनुभयो ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै राम्रो सँग खान र सुत्न नपाएको उनीहरुको भनाई छ । ‘‘दिनमा तीन पटकसम्म विरामी लगेर पोखरा गएँ । शरीर थाकेको छ भन्न पाइँदैन । गाडी त चलाउनुनै प¥यो । विरामीलाई छिटो अस्पतालसम्म पु-याएर बचाउन सके यसैमाखुसी र आनन्द मिल्छ चालक गौतमले भन्नुभयो, ‘विरामी बाँचेको खबर सुन्दा जीवनकै धेरै खुसी र आनन्द मिल्दोरहेछ ।’ कतिपय विरामीले पछि निको भएपछि पनि फोन गर्दछन् । कुनै कुनै ले त पछि नचिन्दा धेरै दुःख लाग्दो रहेछ उहाँले अनुभव सुनाउनुभयो ।

कोरोनाका विरामीहरु बोके बापत उनीहरुलाई थप सेवा सुविधा छैन । नियमित पारिश्रमिककै भरमा ज्यानको जोखिम मोलेर संक्रमित विरामीरुलाई अस्पताल सम्म पु¥याउने कार्यमा उनीहरु खटेका छन् । सुरु सुरुमा परिवार र छरछिमेकहरुले पनि अस्पताल तिर नै बसे हुन्छ नी भनेर भन्ने गरेको उनीहरु बताउँछन् । अहिले आएर बल्ल सवैजनाले कोरोनाका वारेमा बुझेकाले समस्या नभएको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया