चामेको नयाँबजारमा बाढी पस्यो, बस्ती जोखिममा (फोटो फिचर)

  जेठ १४, २०७८

लमजुङ, जेठ १४ : हिमाली जिल्ला मनाङको चामे क्षेत्रमा बाढी आउँदा वस्ती जोखिममा परेको छ । तीन दिनदेखि निरन्तर परेको पानीका कारण चामेको नयाँबजारमा बाढी पसेको हो । चामे घट्टे खोला र ठाडोलाइन खोलाबाट आएको बाढीले वस्ति जोखिममा परेको स्थानीयले बताएका छन् ।

स्थानीय पाल्साङ गुरुङका अनुसार उक्त ठाउँमा हालसम्मकै ठूलो बाढी आएको हो । बजार क्षेत्रभित्र बाढी पसेर सडक क्षतविक्षत बनाएको छ । केही घरको जग लगेको छ । बिजुलीका पोलहरु लगेको छ । कुखुराका खोरहरु पनि बगाएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार चामेको नयाँबजारमा रहेको घट्टेखोलाबाट आएको बाढीले वस्ती जोखिममा पारेको छ । शुक्रबार दिउँसो ३ बजे एक्कासि बाढी पसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार तीन दिनसम्म पानी निरन्तर परिरहँदा घट्टेखोबाट बाढी पसेको हो । दुईवटा पक्की घरहरु उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । केही छाप्रोहरु पनि जोखिममा परेको छ । बजारमै रहेको पक्की पुलको वरिपरिको भाग बगाएको छ ।

प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार घट्टेखोला माथिबाट आएको बाढीले वस्ती जोखिममा परेको हो । एउटा होटल र एउटा घरको जग पानीले लगेको छ । भत्किने अवस्थामा रहेको बताउनुभयो ।

यस्तै, ट्रस हालेर बनाइएको एक÷एक वटा मासुपसल, कस्मेटिक पसल पनि जोखिम अवस्थामा रहेको छ । ति जोखिम घरहरुको व्यक्तिलाई स्थानान्तरण गरिएको छ । सामानहरु पनि सारिएको छ । पानी परिरहेकाले जोखिम बढ्ने भन्दै वस्तीका नागरिकलाई स्थानान्तरण गर्न थालेको बताउनुभयो ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार दिउँसो एक्कासि खोला बढेर आउँदा बजार क्षेत्रमा बाढी पसेको हो । दिउँसोको समयमा बाढी आएकाले स्थानीय भाग्न सफल भएका छन् । घरहरुमा क्षति भएपनि मानवीय क्षति नभएको उहाँले बताउनुभयो । पानी परिरहेमा अन्य घरहरु पनि जोखिममा पर्न सक्ने अवस्था रहेको बताउनुभयो ।

निरन्तर पानी परिरहेकाले गाउँपालिकाले जोखिम बढ्ने भन्दै गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ । बसोबास र खानपानमा समस्या भएका गाउँपालिकाको विपद् व्यवस्थापन समितिलाई सम्पर्क गर्न अनुरोध गरेको छ । स्थानीयलाई स्थानान्तरणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी खटिएका छन् ।

तपाईको प्रतिक्रिया