हिमाली जिल्ला म्याग्दीमा शुरु भयो धान रोपाइँ (फोटो फिचर)

  जेठ १२, २०७८

बेनी, जेठ १२ : हिमाली जिल्ला म्याग्दीको बेनीको अर्जेखोला क्षेत्रमा धान रोपाइँ शुरु भएको छ । जिल्लामै शुरुमा धान रोपाइँ गर्ने त्यस क्षेत्रमा यस पटक पनि धान रोप्न शुरु गरिसकिएको छ ।

विश्वभर फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट सहितको सङ्क्रमणको दर उच्च भै रहेको समयमा म्याग्दीमा संक्रमण दर उच्च छ भने मृतको सङ्ख्या पनि धेरै छ । तर ग्रामिण भेकमा रहेका कृषकहरु आफ्नै पेशालाई भने स्वास्थ्य मापदण्ड अपनाउँदै अगाडी बढाइ रहेका छन् ।

कोरोना भाइरसको चेन ब्रेक गर्न भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले गत बैशाख २० देखि शुरु गरेको निशेधाज्ञा आउँदो जेठ १७ गतेसम्म जारी राखी रहेको अवस्था भए पनि अर्जेखोला क्षेत्रमा कृषकहरुले धान रोपाइँलाई रोकेका छैनन् ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकालाई छुट्याउने अर्जेखोलाको वारीपारीको क्षेत्रमा वैशाख अन्तिमदेखि जेठमध्ये सम्मा सामान्यतया धान रोपेर सक्ने गरिन्छ । निषेधाज्ञाका कारण बजार क्षेत्र सँगै मानवबस्ती हुने ग्रामीण भेक समेत सुनसान प्रायः भए पनि धान रोपाइँ भने नरोकिएको बेनी नगरपालिका–४ कलङ्कुरका लोकेश पुनले बताउनुभयो । बरंजा क्षेत्रका मगर समूदायले जेठको प्राय तेस्राे बिहीबार मनाउने धुलेभन्दा पहिला नै रोपाइँ सकिने गरेको विगत भए पनि यस वर्ष भने कोभिड–१९ का कारणले गर्दा रोपाइँ ढिला शुरु भएको पुनको भनाइ छ ।

अर्जेखोला क्षेत्रका कृषकले गौरिया, गुडुरा, जौधान, जेठोबुढो, ताक्मारेलगायतका स्थानिय जातका धानहरु प्रमुख रुपमा रोप्ने कृषिक ज्ञानकेन्द्र म्याग्दीका प्रमुख ज्ञानराज कोइरालाले बताउनुभयो । कोइरालाका अनुसार गत वर्ष भन्दा यस वर्ष त्यस क्षेत्रमा रोपाइँ केही ढिला भएको छ । कोइरालाका अनुसार खेतमा धान रोप्ने कृषकहरुले खेतको आलीमा भट्ट तथा मास रोप्ने गर्दछन् । ग्रामिण भेकमा प्रय गोरुले जोतेर रोपाइँ गरीने भए पनि पछिल्लो समय भने हाते ट्याक्टरको प्रयोग बढ्न थालेको छ ।

अर्जेखोला वारीपारीको क्षेत्रमा पनि अहिले हाते ट्याक्टरकै प्रयोग बढेको छ । आकासे पानीको भर पर्नु नपर्ने यस क्षेत्रमा धान रोप्न मिल्ने गरी बाह्रै महिना अर्जेखोलाको पानी प्रयोग गर्न सकिन्छ भने यही ठाउँमा पानीबाट चल्ने मिल समेत रहेको छ । हरेक बर्ष यस क्षेत्रमा सबैभन्दा अगाडी असारे धान रोपाइँ हुने गरेको छ ।

तपाईको प्रतिक्रिया