कमलामा १० वर्षदेखि अलपत्र ५४६ मिटर लामाे पुल बन्याे

  जेठ ०५, २०७८

दुधौली (सिन्धुली, जेठ ४ : चतरा–सिन्धुली–हेटौंडा बैकल्पिक राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको कमला नदीमा १० वर्षदेखि अलपत्र अवस्थामा रहेको पक्की पुल निर्माणकार्य बल्ल सम्पन्न भएको छ ।

उक्त पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रकसनलाई हटाएर जेभिमा सँगै काम गरेको लुम्बिनि कन्ट्रक्सनलाई जिम्मा दिएसँगै पुल निर्माणकार्य सम्पन्न भएको हो । चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्गको पूर्वी खण्ड आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शंकर पौडेलले कमला नदीमा उक्त पुल निर्माण कार्य सकिएको र अब पूलको दायाँबायाँ गरी पाँच सय मिटर सडक मात्रै पिच (कालोपत्रे) गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘उक्त सडक पिच गर्ने कार्य पनि धमाधम भइरहेको छ । संभवत यही जेठ महिनाबाट पुलबाटै गाडी आवतजावत सुरु हुन्छ ।’
उक्त सडक आयोजनाका अनुसार पप्पु कन्ट्रकसनले २०६८ सालमा सम्झौता गरि दुधौली नगरपालिकाको वडा नं. २ र ३ लाई जोडने गरी कमला नदीमा पक्की पुल निर्माण सुरु भएको थियो ।

तर आधा पनि काम नगरी पप्पुले अलपत्र अवस्थामा छाडेपछि जेभि (साझेदार)मा सँगै काम गरेको लुम्बिनी कन्ट्रकसनले गत वर्ष माघ महिनामा जिम्मा लिएर बाँकी काम सुरु गरेको थियो । कुल ५४६ मिटर लम्बाई रहेको १४ वटा स्पानको उक्त पुलको सबै काम अहिले सकिएको अवस्था छ । लुम्बिनी कन्ट्रकसनले एक वर्षभित्र उक्त पुल निर्माण सम्पन्न गर्ने जिम्मा लिएर बाँकी काम सुरु गरेको थियो ।

आयोजनाका अनुसार करिब ३१ करोड रुपियाँ लागतमा उक्त पुल निर्माण सुरु भएको थियो । उक्त पुल निर्माणको ठेक्का पप्पु–लुम्वीनी जेभिले पाए पनि उक्त कम्पनिको ठेकेदारको आन्तरिक सहमति अनुसार पुल निर्माणको काम पप्पुलै मात्रै सुरु गरेको थियो । २०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु लुम्वीनी जेभिले २०६८ असार ३१ गते सम्झौता गरी पुल निर्माण सुरु गरेका थिए । पप्पुले तोकिएको समयमा पुल निर्माण नसकेपछि २०७४ साउन १४ सम्म म्याद थपिएको थियो ।

उक्त समयमा पनि पप्पुले आधा पनि काम नगरी पुल निर्माणकार्य अलपत्र अवस्थामा छाडेपछि सडक आयोजनाले पप्पुलाई हटाएर जेभिमा रहेको लुम्बीनीलाई जिम्मामा दिएको आयोजनाका सूचना अधिकारी पौडेलले सुनाउनुभयो । यता लुम्बिनी कन्ट्रक्सनका ठेकेदार शंकर राउतले पनि २०७७ पुस महिनासम्ममा पुल निर्माण कार्य सकिने योजना रहे पनि बीचमा भएको लकडाउनका कारण निर्माण सामग्री झार्न नपाएर काम तोकिएको समयमा सिध्याउन नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुल निर्माणको सबै काम सकेर अहिले रंगरोगन गर्ने कार्य र स–साना टुक्राटाक्री काम भइरहेको छ । सबै काम यही जेठ महिनाभित्र सकिन्छ ।’

दुधौली नगरपालिका वडा नं. १ का अध्यक्ष गोबिन्दप्रसाद पहाडी चतरा–सिन्धुली–हेटौंडा बैकल्पिक राजमार्ग अन्तर्गत १० वर्षभन्दा बढी समयदेखि अलपत्र अवस्थामा रहेको कमला नदीमा पक्की पुल निर्माण सम्पन्न हुँदा स्थानीयवासीमा खुशियाली छाएको बताउनुहुन्छ ।
‘अहिले सबैजसो काम सकिएको छ, पप्पुको लापर्बाही देखेर स्थानीयले पुल निर्माण हुनेमा आशा मारिसकेका थियौं,’ उहाँले भन्नुभयो, ‘अब आउने बर्षा कमला नदीको पानी नछोई पुलबाट तर्न पाइने भएको छ ।’

तपाईको प्रतिक्रिया