भोलिबाट ‘ताउ–ते’ चक्रपातको असर देखा पर्ने, हिमाल आरोहण रोक्न आग्रह

  जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : खराव मौसमका कारण भन्दै जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ ।

हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ–ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न विभागले बुलेटिन जारी गरेको छ ।

अन्य हिमालको आरोहण बन्द भई सके पछि सगरमाथाको आरोहण भने ५० प्रतिशत बढी अझै बाँकी रहेको जनाएको छ । ल्होत्से, नुप्से, मकालु लगायतका हिमालमा समेत केही आरोहीहरु आरोहण क्रममै रहेकाले विभागले माथि नजान सुझाव दिएको हो ।

यो चक्रवात उच्च हिमालि भूभागमा बढी प्रभाव रहने बताउदै पर्वतारोहण नगर्न तथा नगराउन हुन विभागले अनुरोध गरेको छ। ठुलो हावाहुरी सहित चट्याङ पर्ने र हिमपातसँगै बर्षा हुने विभागको अनुमान छ ।

हिन्द महासागरदेखि सुरु भएको उक्त चक्रवात अहिले १७५ प्रतिघण्टाको बेगमा भारतमा अघि बढिरहेको छ । समुन्द्र तटीय क्षेत्र केरला र मुम्बईमा क्षति पु-याउँदै उक्त चक्रवात गुजराततर्फ अघि बढिरहेको छ ।

पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ अझ बिकशित हुने क्रममा रहेको जनाउदै उक्त चक्रवातको प्रत्यक्ष प्रभाब नेपालको भूभागमा पर्ने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताउनुभयो । यो चक्रवात भोलि मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको र बुधबार बेलुकाबाट शुक्रबारसम्म रहने उहाँले बताउनुभयो ।

सगरमाथासहितको हिमाल आरोहण प्रभावित

राससका अनुसार अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

“मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिविरबाट आचार्यले भन्नुभयो, “यतिबेला सयौँ आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा हुनुहुन्छ ।” यस वर्ष वसन्त यामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भएको थियो ।

उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । त्यसपछि वैशाख २८ र २९ गते सयौँ आरोही सगरमाथाको शिखरमा पुगेका थिए । यो समयमा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

दुई दिनमा करीब १५० भन्दा बढी आरोहीले सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको अनुमान गरिए पनि कोरोना सङ्क्रमणका कारण यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको नर्देशक आचार्यको भनाइ छ । उहाँका अनुसार आमादब्लम हिमालको आरोहण सकिएको छ भने लोत्से, नुप्त्से लगायतको हिमाल आरोहण हुने क्रम जारी छ ।

मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएको भन्दै उहाँले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताउनुभयो । मौसम अनुकूल हुने बित्तिकै पुनः शिखरतर्फ जाने क्रम शुरु हुने उहाँको भनाइ छ ।

“भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरु आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ”, मौसमविद् अर्यालले भन्नुभयो, “यो समयमा उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना हुन्छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ ।” यस वर्षको वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणका लागि ८५ समूहका ७४२ आरोहीले अनुमति पाएका छन् ।

तपाईको प्रतिक्रिया