टेलिकमको आम्दानीमा सुधार

  बैशाख ३१, २०७८

काठमाडौँ, वैशाख ३१ : सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा नेपाल टेलिकमको सेवा बिक्रीबापतको आम्दानीमा सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७र७८ को तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार आम्दानी करिब एक अर्ब रुपियाँले बढेको छ ।

कम्पनीले तेस्रो त्रैमासिकमा मात्रै नौ अर्ब ७२ करोड रुपियाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा भने कम्पनीले करिब आठ अर्ब ८० करोड रुपियाँ आम्दानी गरेको थियो । “सक्रिय प्रयोगकर्ता र एफटीटीएचको प्रयोग बढ्दा तेस्रो त्रैमासिकमा वित्तीय अवस्थामा सुधार आएको छ,” कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो । उहाँका अनुसार अहिले टेलिकमका सक्रिय प्रयोगकर्ताको सङ्ख्या १० लाखभन्दा बढी छ । यसले २४ घण्टाभित्र कुनै पनि समयमा कम्पनीको सेवा प्रयोग गरिरहेका प्रयोगकर्ताको सङ्ख्या जनाउँछ ।

टेलिकमले चालू आवको पहिलो त्रैमासिकमा आठ अर्ब ६३ करोड र दोस्रो त्रैमासिकमा नौ अर्ब आठ करोड रुपियाँ आम्दानी गरेको थियो । दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकको आम्दानी ७ प्रतिशत अर्थात् ६३ करोड ६८ लाख रुपियाँले बढी हो । चालू आवको सुरुवातदेखि तेस्रो त्रैमासिकसम्म टेलिकमको सेवा बिक्रीबापतको आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा २.२९ प्रतिशतले बढेर २७ अर्ब ४५ करोड रुपियाँ पुगेको विवरणमा उल्लेख छ ।

सेवासहित अन्य आम्दानीसमेत गरेर टेलिकमको कुल आम्दानी भने अघिल्लो आवको तुलनामा केही घटेर ३१ अर्ब ६७ करोड रुपियाँ पुगेको छ । गत आवको चैतसम्म कम्पनीको कुल आम्दानी ३२ अर्ब २७ करोड रुपियाँ थियो । खासगरी ब्याज आम्दानी, लिलाम बिक्रीबापत प्राप्त हुने आम्दानी केही घट्दा कुल आम्दानी कम देखिएको प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ ।

अघिल्ला त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा कम्पनीको खुद नाफा बढे पनि चालू आवको चैतसम्मको खुद मुनाफा भने घटेको छ । कम्पनीका अनुसार चैतसम्म पाँच अर्ब ८८ करोड रुपियाँ खुद मुनाफा आर्जन भएको छ । गत आवको सोही अवधिसम्म कम्पनीको खुद मुनाफा सात अर्ब ५६ करोड रुपियाँ थियो ।

चालू आवमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मतसम्भार खर्चमा भएको वृद्धि र विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा फोरजी एफटीटीएच प्रविधि जडान गरिएकोले ह्रासकट्टीमा भएको वृद्धिले नाफामा असर परेको कम्पनीले जनाएको छ ।

डेटा खपत बढ्यो
निषेधाज्ञाका कारण कम्पनीको मोबाइल डेटा खपत बढेको छ । वैशाख १६ गतेयता कम्पनीको डेटा प्रयोग २८ प्रतिशतले बढेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । एडीएसएल तथा एफटीटीएचमा प्रयोग हुने ब्यान्डविथ खपत पनि ३० प्रतिशतले बढेको उहाँले बताउनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार माघसम्म कम्पनीका २५ लाख ४४ हजार फोरजी र ८८ लाख ६० हजार थ्रीजी प्रयोगकर्ता थिए । त्यस्तै आठ लाख ३७ हजार एडीएसएल र चार लाख ४३ हजार केबल÷एफटीटीएच प्रयोगकर्ता रहेको तथ्याङ्क छ ।

३९ रुपियाँमा दिनभर डेटा
कम्पनीले निषेधाज्ञालाई लक्षित गर्दै ३९ रुपियाँमा दिनभर चलाउन सकिने डेटा प्याक सार्वजनिक गरेको छ । यो प्याकको स्पिड एक एमबीपीएससम्मको हुनेछ । यो प्याक बिहान ५ः०० देखि बेलुका ५ः०० बजेसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले विभिन्न भुक्तानी माध्यम र एमपोसमार्फत रिचार्ज गर्दा बोनस डेटासम्म उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार दुई सय रुपियाँदेखि ४९९ रुपियाँसम्म रिचार्ज गर्दा पाँच सय एमबी डेटा उपलब्ध हुनेछ जसलाई दुई दिनभित्र प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै पाँच सय रुपियाँभन्दा माथिको रिचार्जमा एक जीबी डेटा उपलब्ध गराइने र त्यसलाई चार दिनभित्र प्रयोग गर्न सकिनेछ । कम्पनीले डेटा प्याक र डेटा बोनस सुविधा एक महिनाका लागि लागू हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया