तनहुँ वैशाख २८ : जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न तनहुँमा रामवाण जस्तै बन्न पुगेको छ । जङ्गलमा पोखरी निर्माण गरिएका क्षेत्र आसपासको बस्तीमा हाल जङ्गली जनावर र मानवबीचको द्वन्द्व कम भएको छ । ‘‘वन क्षेत्रमै पानी पाएपछि क्षेत्रका वस्तीमा अहिले जङ्गली जनावरले दुःख दिएको छैन रामवाण जस्तै बन्न पुगेको छ पोखरी’’ डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले भन्नुभयो । काफ्लेका अनुसार पोखरी निर्माण गरिएपछि त्यस क्षेत्रमा यस वर्ष जङ्गलमा आगोलागी भएको छैन, चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् भने हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको छ ।
डिभिजन वन कार्यालय तनहुँद्धारा मुहानको संरक्षण तथा पोखरी निर्माण गरिएपछि वन्यजन्तुलाई जङ्गलमै भुलाउन मद्दत पुगेकोले द्वन्द्व व्यवस्थापनमा सहज भएको हो । पानीको खोजीमा वन्यजन्तु मानव वस्तिमा आउन थालेपछि मानव र वन्यजन्तु द्वन्द्व बढेकाले न्यूनीकरणको लागि चालु आर्थिक वर्षमा १८ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । नरभक्षी चितुवाबाट बढी प्रभावित भएको भानु नगरपालिकामा १५, वटा भिमाद नगरपालिका, गाउँपालिकाहरु बन्दीपुर र देवघाटमा एक एक वटा पोखरी निर्माण गरिएको कार्यालयका प्रमुख काफ्लेले बताउनुभयो । पोखरीका लागि कार्यालयले विनियोजन गरेको १२ लाख ५० हजार रुपियाँको लागतमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । भानुमा १२ वटा पोखरी निर्माणको लागि अनुदान दिईएको भएपनि स्थानीय वासिन्दाले जनश्रमदान गरि तीन वटा थप पोखरी निर्माण गरेको काफ्ले बताउनुहुन्छ ।
जङ्गलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरु तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने भएकाले प्रति पोखरी निर्माणलाई अभियानको रुपमा सञ्चाजनल गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चितुवा प्यास मेटाउन बस्तीमा पस्ने चितुवाले आक्रमण गरिरहेको निष्कर्ष निकाल्दै जङ्गलमै पोखरी निर्माण गर्न थालिएको हो । तीन वर्षमा नरभक्षी चितुवाको आक्रमणबाट तनहुँमा १० बालबालिकाको मृत्यु भएको छ । आक्रमणबाट नौ जना घाइते भएका छन् । यो क्रम बढ्न थालेपछि वन कार्यालयले चितुवाको आक्रमणबाट जोगाउने उपाय अवलम्बन गर्न थालिएको हो ।
काफ्लेका अनुसार जङ्गलमा पानीको स्रोत नभएकाले चितुवा पानी खोज्दै बस्तीतिर आउने गरेको छ । ‘ वनमा पोखरी नहुँदा पानी खोज्दै चितुवा नजिकको बस्तीमा जाने त्यतिवेला मान्छेमाथि आक्रमण गरेकाले निसानामा बालबालिका पर्न थालेका हुन्,’ कार्यालय प्रमुख काफ्लेले भन्नुभयो । योसँगै वन्यजुन्तका लागि आहाराको व्यवस्थापन गर्ने योजना पनि रहेको वन कार्यालयले जनाएको छ । शाकाहारी वन्यजन्तुका लागि घाँसे मैदानको व्यवस्थापन गरिने भएको छ । जसले गर्दा वन्यजन्तुको वृद्धि हुँदा चितुवाको आहार पुग्ने विश्वास गरिएको छ ।
पोखरी निर्माणको लागि वजेट विनियोजन गर्न आग्रह
यसैबीच डिभिजन वन कार्यालय तनहुँले जङ्गलमा पोखरी निर्माण गर्न तथा जथाभावी जङ्गलका रुख ढालेर डोजरे विकास नगर्न आग्रह गरेको छ । ‘‘आगामी वर्षको लागि ग्रामिण क्षेत्रमा हरेक वडामा जङ्गलमा पोखरी निर्माण गर्न वजेट व्यवस्थापन गर्न पालिकालाई भनेका छौं, डिभिजन प्रमुख काफ्लेले भन्नुभयो पोखरी निर्माण गरियो भने पानीको मुल सुक्दैनन् मानिस र वन्यजन्तु दुवैलाई सहज हुन्छ ।’’ जङ्गलबाट बस्तीमा पानी ल्याउँदा वन्यजन्तुको लागि आवश्यक पानी छाडेर मात्रै ल्याउनु पर्ने काफ्ले बताउनुहुन्छ ।
वन्यजन्तुले जङ्गलमा पानी पाएनन् भने प्यास मेट्न बस्तीमा आउने र खडेरीको समयमा घाँस पनि जङ्गलमा मासिने भएकोले मानव र वन्यजन्तुबीच द्धन्द्ध बढ्ने कार्यालयले जनाएको छ । यस्ता कुरालाई बुझेर शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनीका केही वडाले पोखरी निर्माणलाई प्राथमिकता दिइएको पाइएको कार्यालय प्रमुख काफ्ले बताउनुभयाे ।
![](https://gorkhapatraonline.com/news_gallery/609a33dfd78f6_IMG-5c6c6110ef001a6d96d04edaf5800f2e-V.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/609a33dfd8f58_IMG-8d919eaa30a60e4dbc987e3af3fb1d7a-V.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/609a33dfda088_IMG-99b056177eb663f811dce3610866c02d-V.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/609a33dfdb0fa_IMG-4496d557747baad6ef07e3dd8abf8c41-V.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/609a33dfdc193_IMG-6038f85d0622dba0f169f48b1adffa1d-V.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/609a33dfdd14b_IMG-ad884d64bc3f3642d67b68b4366cdbff-V.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/609a33dfde2fe_IMG-c27079b3d8aa88ea58242b85e814f857-V.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/609a33dfdf448_IMG-ca0c93f1e7fc95b3ca6bd8ddf709d4e4-V.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/609a33ded311c_IMG-1aa058cff3a8d586f57fb63fb9eddbad-V.jpg)