दृश्यावलाेकनका लागि उत्कृष्ट झाँक्रीपानी (फोटो फिचर)

  बैशाख २७, २०७८

बेनी, वैशाख २७ : चारैतिर लहरै देखिने हिमशृङ्खलाहरु हेर्नका लागि मानव वस्तीभन्दा माथि रहेको अग्लो जमिन छ । त्यो मानिसले बनाएको होइन प्राकृतिले नै आफै निर्माण गरिदिएको हो । त्यसैमा केही समथर जमिनमा मानिसले मात्र भ्युटावर निर्माण गरेका छन् । त्यही भ्यु–टावरमा चढेर हेर्ने हो भने मंगला गाउँपालिकाको साथै बेनी नगरपालिकाका पनि धेरै ग्रामिण भेक अनि धौलागिरी अन्नपुर्ण लगायतका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

जिल्ला सदरमुकाम बेनीबाट नजिकै पर्ने मनोरम दृश्यावलोकन गर्न मिल्ने गज्जबको ठाउँ यो हो, बराङ्जाको झाँक्रीपानी । बराङ्जा गाउँभन्दा माथि पर्दछ झाँक्रीपानी । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३, नम्बर वडामा पर्ने बराङ्जाको झाँक्रीपानी क्षेत्र पर्यटकीय गन्तव्यका लागि आकर्षणस्थल स्थल हो ।

झाँक्रीपानीमा पछिल्लोपटक खासगरी आन्तरिक पर्यटकहरु पुग्ने गर्दथे । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण र रोजाइमा परेको झाँक्रीपानीमा बरङ्जामा विभिन्न कार्यक्रम लगेर जानेहरु पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । झाँक्रीपानीबाट म्याग्दीको ग्रामीण सौन्दर्यको अवलोकन, मनोरम हिमश्रृङ्खलाको दृश्यावलोकन तथा मगर समुदायको कला, संस्कृति र भेषभूषाको अध्ययन गर्न पाइन्छ ।

परापूर्वकालमा झाँक्रीले त्यस स्थानमा पानी निकालेको भएर झाँक्रीपानी नाम रहन गएको किम्बदन्ती पाइने स्थानीय युवा दर्पण रोकाले बताउनुभयो । उहाँले झाँक्रीपानीबाट प्राकृतिक सौन्दर्यको अवलोकनका साथै मनोरम दृश्यहरु हेर्न पाइने भएकाले पछिल्लो समय पर्यटकको चहलपहल बढेको बताउनुभएको छ । उहाँले दिएको जानकारीअनुसार झाँक्रीपानीबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण, निलगिरी, मनास्लु, माछापुच्छ्रे लगायत दर्जनौं हिमालहरुको अवलोकन गर्न सकिन्छ ।

झाँक्रीपानीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै जान थालेपछि वडा कार्यालय र मंगला गाउँपालिकाले पर्यटकलाई लक्षित गरेर भ्यु–टावर निर्माण गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा सङ्घीय सरकारबाट १० लाख, गाउँपालिकाको पाँचलाख ५० हजार, वडा कार्यालयको एकलाख ५० हजार तथा स्थानीय श्रमदान तीनलाख ६६ हजार सातसय ५० गरी कुल २० लाख ६६ हजार सातसय ५० रुपैयाँको लागतमा भ्यु–टावर बनाइएको गाउँपालिकाले जनाएको छ । झाँक्रीपानीमा दृश्य नियाल्नका लागि भ्यु–टावर निर्माण गरेपछि अहिले पर्यटकको आगमनमा वृद्धि भएको स्थानीयले बताएका छन् ।

समुन्द्री सतहदेखि झण्डै २ हजार ३ सय मिटरको उचाइमा झाँक्रीपानी रहेको छ । ईलामबाट म्याग्दीको भ्रमण गर्न आएकी आन्तरिक पर्यटक टिका उप्रेतीले बराङ्जाको झाँक्रीपानी क्षेत्रको भ्रमण गर्दा आनन्दको अनुभूति मिलेको अनुभव बताउँदै झाँक्रीपानी पर्यटन प्रवद्र्धनका लागि उपयुक्तस्थल रहेको बताउनुभएको छ । उहाँले गाउँमा पर्यटन प्रवद्र्धन गर्न सकेमा स्थानीयको जिविकोपार्जनमा समेत सुधार आउने बतानुभयो ।

झाँक्रीपानी गाउँ नजिकै ऐतिहासिक चिनाकोट दरबार पनि रहेको छ । झाँक्रीपानीदेखि आधा घण्टाको दूरीमा रहेको उक्त दरबारबाट पनि मनोरम हिमश्रृङ्खलासहितको दृश्यावलोकन गर्न सकिन्छ । मंगला गाउँपालिकामा बराङ्जाको झाँक्रीपानी, चिनाकोट, कुहुँको टोड्के, अर्मनको चाङ्गा र तीनचुलेलगायत पर्यटकीयस्थलहरु छन् । पर्यटकीयस्थलको प्रचारप्रसार तथा विकासमा जोड दिइएको मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया