अक्सिजनसहितका आइसोलेशन सेन्टर तयार गर्दै (फोटो फिचरसहित)

  बैशाख २३, २०७८

सुर्खेत, बैशाख २३ : कोरोना संक्रमितको संख्या बढ्दै गए पछि स्थानीय तहले पनि कोरोना रोकथाम र व्यवस्थापनको तयारीलाई तिव्रता दिएका छन् । सुर्खेतका सबै स्थानीय तहले अक्सिजनसहितका आइसोलेशन बेड तयारीलाई तिव्रता दिएका हुन ।

सक्रमितको संख्या बढ्दै गए पछि स्थानीय तहले अक्सिजनसहितका बेड तयारमा जुटेका छन् । गुर्भाकोट नगरपालिकाले मेहेलकुना अस्पतालसँग समन्वय गरेर सिटी हलमा २५ बेडको अक्सिजनसहित बेड तयार गरेको छ ।

यस्तै सिम्ता गाउँपालिकामा ५० बेडको अक्सिजनसहितको आइसोलेशन बेड तयारी गरिएको छ । गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले अप्ठेरो परेको खण्डमा गाउँपालिकाले बनाएको आइसोलेशनमा राखिने जानकारी दिनुभयो । उहाँले यस बाहेक स्वाव सकलन, एन्टिजेनबाट परीक्षण गर्नुका साथै गाउँपालिकाले अन्य बिरामी हुन नदिनका लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलिले घरदैलो अभियान पनि गरेको बताउनुभयो ।

चिङ्गाड गाउँपालिकामा १५ बेडको अक्सिजनसहित आइसोलेशन बेड बनाएको छ । गाउँपालिकामा पाँच बेडको कोरोना अस्प्ताल पनि रहेको गाउँपालिकाले जनाएको छ । अहिले सात जनालाई गाउँपालिकाले बनाएको आइसोलेशनमा उपचार भइरहेको छ । वीरेन्द्रनगर नगरपालिकाले पनि ५० बेडको अक्सिजनसहितको आइसोलेशन बेड तयार गर्ने गरी काम अघि बढाएको छ ।

उपप्रमुख मोहनमाया ढकालले अब एकदुई दिनमा २५ बेडको अक्सिजनसहित संचालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले प्रत्येक वडामा रहेका स्वास्थ्य संस्था प्रमुखलाई फोर्कल पर्सन तोकेर कोरोना सक्रमितको निगरानी गरिएको बताउनुभयो । उहाँले अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा पनि रहेको जानकारी दिनुभयो ।

यस्तै पञ्चपुरी नगरपालिकाले पनि १५ वेडको अक्सिजनसहितको आइसोलेशन बेड तयार गरेको छ । नगर प्रमुख उपेन्द्र थापाका अनुुसार अहिले पाँच बेडको अस्थायी कोरोना अस्पतालमा एक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । उहाँले अक्सिजन शिलिण्डर खरिद, चिकित्सकको व्यबस्थाका लागि प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

चौकुने गाउँपालिकामा पनि पाँच बेडको अक्सिजनसहितको आइसोलेशन बेड तयार गरेको छ । जनस्वास्थ्य अधिकृत गगन पाँण्डेले यसको विस्तार गर्दै ५० बेड पु¥याउने लक्ष्य लिएको जानकारी दिनुभयो । भेरीगंगा नगरपालिकाले एक करोड एक लाखको कोरोना कोष स्थापना गरेको छ । औषधि खरिद, अक्सिजन शिलिण्डर खरिदका लागि प्रक्रिया अघि बढाएको नगरपालिकाले जनाएको छ । कोरोना फोर्कल पर्सन धिरेन्द्र घर्तीले अहिले तत्तका अक्सिजनसहितको दुई बेड तयारी अवस्थामा राखिएको र तत्तकाल १५ बेड बनाइने जानकारी दिनुभयो ।

यस्तै लेकवेशी नगरपालिकाले १५ बेडको अक्सिजनसहितको आइसोलेशन तयार गरेको छ । नगर प्रमुख गगनसिं सुनारले दशरपुर कृषि अनुसन्धान केन्द्रको भवनमा १५ बेडको अक्सिजनसहितको बेड तयार गरिएको जानकारी दिनुभयो । अहिलेसम्म सामान्य विरामी होम आइसोलेशनमा र गम्भिर प्रकृतिका बिरामीलाई प्रदेश अस्पतला पठाउने गरिएको उहाँको भनाई छ ।

कोरोनाको दोस्रो लहर आएसँगै सुर्खेतमा पनि कोरोना सक्रमितको संख्या बढ्दो छ । अहिलेसम्म सुर्खेतका सक्रिय सक्रमितको संख्या एक हजार पाँच सय बढी छ । कोरोना सक्रमणको जोखिम बढ्दै गए पछि सुर्खेतमा बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।

तपाईको प्रतिक्रिया