गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेबुल

  बैशाख १३, २०७८

गण्डकी, वैशाख १३ : गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ । सभासमक्ष मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनताको अपेक्षा र विश्वास सरकारले पूरा गर्न नसकेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले संसद् विघटन गरेको कार्यलाई असंवैधानिक कदमका रुपमा आफूहरुले विरोध गरेको बताउँदै उहाँले सो कदमको विरुद्धमा जनतासमेत आन्दोलित बनेको र अदालतले असंवैधानिक भनेको अवस्थामा समेत प्रदेश सरकारका मुख्यमन्त्रीले त्यसको प्रतिरक्षा गर्नुभएको बताउनुभयो । सरकारले संविधानको अवहेलना गरेको उल्लेख गर्दै उहाँले मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएका अवस्थामा विश्वासको मत लिनुपर्ने भए पनि नलिइएको बताउनुभयो ।

नेता नेपालीले सरकार अल्पमतमा परेका अवस्थामा राजीनामा दिनुपर्ने र समर्थक दलले समर्थन फिर्ता लिएका अवस्थामा समेत संसदीय मूल्य मान्यताका विरुद्ध सरकार टाँसिरहेको उल्लेख गर्दै मुख्यमन्त्रीबाट हिउँदे अधिवेशन आह्वान भई प्रक्रिया बढेको र वैशाख ६ गतेका लागि बैठक तोकिएका अवस्थामा १ गते मध्यरातमा अधिवेशनको अन्त्य गर्नुभएका कारण सरकारलाई समाएर ल्याउनका लागि विशेष अधिवेशन माग गर्नुपरेको बताउनुभयो । यो कदम संसदीय मान्यताका विरुद्धमा भएको भन्दै उहाँले आपत्ति व्यक्त गर्नुभयो ।

नेता नेपालीले गण्डकीलाई नमूना प्रदेश बनाउने साझा परिकल्पना गरिए पनि त्यसमा सरकार चुकेको बताउँदै साढे तीन वर्षको अवधिमा उल्लेख्य काम हुन नसकेको आरोप लगाउनुभयो । सरकारले बजेट खर्च गर्न नसकेको, कोरोना महामारीको नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, संसद्लाई छल्ने प्रवृत्ति लगायतका कारणले सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्नु परेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले नीति तथा कार्यक्रममा योजना घोषणा गर्ने तर कार्यान्वयन नगर्ने, बढ्दो महँगी, बेरोजगारीका साथै महालेखा परीक्षकले आफ्नो प्रतिवेदनमा आर्थिक अनियमितता भएको उल्लेख गर्नु र कोरोना महामारी बढिरहेको अवस्थामा आइसियु, भेन्टिलेटर खरीद हुन नसक्नु लगायतका कारणले सरकारको अकर्मण्यता प्रस्तुत भएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया