पहिलो पटक चार नेपाली महिलाले धौलागिरी आरोहण गर्दै

  बैशाख १३, २०७८

काठमाडौं, बैशाख १३ : पहिलो पटक चार नेपाली महिला आरोहीले धौलागिरी हिमालको आरोहण गर्ने भएका छन् । अन्नपूर्ण आरोहण गरेका मध्ये माया शेर्पा, पुर्णिमा श्रेष्ठ, पासाङ ल्हामु शेर्पा (अकिता) र दाफुटी शेर्पाले धौलागिरीको आरोहण गर्ने भएका हुन् । गत वैसाख ३ गते पहिलो पटक अन्नपूर्ण (पहिलो) हिमालको (८०९१ मिटर) ६ जना नेपाली महिलाले पहिलो पटक आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।

धौलागिरी आरोहणको तयारीका लागि यि आरोही महिला आज (सोमबार) आधार शिविर पुगेका छन् । संसारका आठ हजार मिटर भन्दा अग्ला १४ हिमालहरुको आरोहण लक्ष लिएका यि नेपाली महिलाले यसै वर्ष दुई वटा अग्ला हिमाल आरोहण गर्ने भएका हुन् । हालसम्म धौलागिरी हिमालमा नेपाली महिलाले आरोहण गर्न सकेका छैनन् । अन्नपूर्ण आरोहण गरेका ७५ प्रतिशत विदेशी आरोहीले समेत धौलागिरी आरोहण गर्ने भए पछि नेपाली महिला आरोही शेर्पा गाइड बनेर चुचुरो पुग्ने भएका हुन् । अन्नपूर्ण हिमालमा समेत यि महिलाले आरोहण अनुमति लिएका थिएनन र आरोही शेर्पा गाइड बनेर चुचुरो पुगेका हुन् ।

पर्यटन विभागले भने यसै वसन्त ऋतुमा धौलागिरी आरोहणका लागि पाँच आरोहणदलबाट २१ पुरुष र १२ महिला सहित ३३ जना आरोहीलाई आरोहण अनुमति दिएको छ । कोरोना महामारिकै बीचमा पनि यस वर्ष पर्वतारोहण पर्यटन भरिभराउ भएको छ । यस वर्ष हालसम्मकै धेरै आरोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । गत सन् २०१९ वर्ष ३८१ जनाले सगरमाथा आरोहणका लागि अनुमती लिएका थिए भने यस वर्ष ३९४ जनाले आरोहण अनुमती लिएका छन् ।

कोरोना महामारिकै बीच यस वसन्त ऋतुमा वर्ष १६ हिमालमा ६८९ जना आरोहीले आरोहण गर्ने पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङले जानकारी दिनुभयो । एकै मौसमको आरोहणबाट विभागले ५२ करोड ५५ लाख २० हजार ६०९ रुपैयाँ राजश्व संकलन गरेको छ । एक सिजनमा भएको यो हालसम्मकै धेरै राजश्व संकलन भएको विभागको भनाई छ ।

तपाईको प्रतिक्रिया