पशुपतिमा शिवरात्रिको रौनक (फोटो फिचर)

  फागुन २७, २०७७

काठमाडौँ, फागुन २७ : महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया