धरहराको बाहिरी संरचना भाेलि सम्पन्न हुँदै

  फागुन २४, २०७७

काठमाडौं, फागुन २४ : काठमाडौंको सुन्धारामा निर्माण हुँदै गरेको धरहराको निर्माण पूर्ण हुँदैछ । धरहराको २२ तलाको ढलान सकिएर धरहराको गजुर रहने गुम्बज ढलानको काम भोलि मंगलबार सिधिने रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

धरहरा भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीको भनाइ छ । कन्सट्रक्सनका व्यवस्थापक श्रेष्ठले बाँकी अरु धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि जारी रहेको बताउनुभयो । अबको केही महिना भित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने भएका छन् । 

धरहरा परिसरमा अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट, वाइरिङसहित फिनिसिङ भइरहेको छ । सुरुमा कोरोनाका कारण काममा केही असर परेको भए तापनि अहिले काम निरन्तर भइरहेको छ । कोरोना कारण लकडाउनको समय र दसैं तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएकाले निर्माणले पूर्णता पाउन लागेको उहाँले बताउनुभयो ।

अहिले बनिरहेको धरहरा विगतमा रहेको धरहराकै शैलीमा बन्दैछ । धरहरामा बालुवा, छड, ईंटा, डण्डी, सिमेण्टको सामग्री प्रयोग गरेर मजुबत तरिकाले बनाइएको छ । तर माथि टपमा भने पुरानै धरहराको गजुर राखिने श्रेष्ठ बताउनुहुन्छ । पुरानै शैलीमा प्रत्येक तलामा झ्याल रहनेछ । 

नयाँ धरहरालाई बालबालिका, जेष्ठ नागरिक र अपाङ्गमैत्री पनि बनाइएको छ । धरोहरा चढ्न दुई वटा लिप्टको व्यवस्था गरिएको छ । गाडी र बाइकको लागि पार्किङको सुविधा रहनेछ । चारसय साना गाडी र सातसय बाईक अट्ने क्षमताको पार्किङ बनिरहेको छ । साथै, खाजा र खाना खाने क्यान्टिनदेखि आराम गर्नको लागि बगैंचा रहनेछ ।धरहरा चढ्न दैनिक तीनदेखि चार हजारको हाराहारीमा पर्यटकहरु आउने एक अनुसन्धानले बताएको व्यवस्थापक श्रेष्ठ बताउनुहुन्छ ।

वि.सं. २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ऐतिहासिक मौलिकता बोकेको धरहरा ढलेको थियो । धरहराभित्रै रहेको सुन्धारालाई पहिलाको जस्तो पानी बग्ने बनाइनेछ । नेपालको पहिचान चिनाउने उक्त पुरानो ऐतिहासिक धरहरालाई सफाइ गरेर पुरानै मौलिकतामा प्रयोगमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया