तीनबुँदे सहमतिभित्र देश बनाउने महान आकांक्षा लुकेको छ : विप्लव

  फागुन २१, २०७७

काठमाडौं, फागुन २१ : नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दले सरकारसँग भएको तीनबुँदे सहमतिभित्र देश र जनताको समृद्धि देश बनाउने महान आकांक्षा लुकेको बताउनुभएको छ । सरकार र नेकपा (विप्लब समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

महासचिव चन्दले नेपाली राजनीतिक आन्दोलन सफलताको महत्वपूर्ण दिनको रुपमा ‘२१ गते’ लाई व्याख्या गर्नुभयो । “यो सहमति सरकार र हाम्रो मात्र होइन, सहमति केवल पार्टीको कुरा मात्र होइन, नेताको कुरा मात्र होइन, सहमतिको भित्र लुकेको महान आकांक्षा छ” चन्दले थप्नुभयो, “सहमतिपत्रको भित्र नेपाललाई समृद्ध बनाउने समृद्धिको आकांक्षा छ ।”

अँध्यारो परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानी जङ्गलमा पाँच जना अग्रजले आफ्नो जीवन कुर्वानी गरेको दिनको स्मरण गर्नुहुँदै नेता चन्दले त्यो दिन आजै भएको चर्चा गर्नुभयो । “आजसम्म धेरैको सपना पूरा भए तर शहिदको चाहना, नेपाली जनताको चाहना पूरा भएको छैन” एक शहिद आमाको इच्छाको वर्णन गर्नुहुँदै महासचिव चन्दले भन्नुभयो, “दुःख नपाएको कोही कम्युनिष्ट नेता छैन, मृत्युको मुख नजिक नपुगेको कुनै नेता छैन ।”

शहीदको सपना मर्न नदिइने प्रतिवद्धता व्यक्त गर्नुहुँदै महासचिव चन्दले परिवर्तनको आन्दोलनमा होमिएका सबै शहीद, अपाङ्गता भएका योद्धा सबैलाई यस अवसरमा स्मरण गर्नुपर्छ उहाँले भन्नुभयो, “यस अवसरमा नेपाल सरकार र हाम्रो दलले एक किसिमको जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।” देशमाथि अतिक्रमण हुँदा कम्युनिष्टहरुले विद्रोह गर्छन् र सँगसँगै शान्तिको दूतको रुपमा काम पनि गर्छन् महासचिव चन्दले थप्नुभयो, “आजको परिवेश बदलिएको छ तर हामी सहमतिको तीन बुँदेमा प्रतिबद्ध छौं, त्यसको सही पालना गर्छौं ।”

वि।सं। २००७ सालदेखि आजसम्म खण्डखण्डमा नेपालको रुपान्तरण हुँदैआए पनि पूरा हुन बाँकी रहेको चर्चा गर्नुहुँदै महासचिव चन्दले अहिले पनि नेपाली जनता सुरक्षित नरहेको बताउनुभयो । “जनतालाई नयाँ फैसला गर्न दिने वातावरण बनाउन जरुरी छ” महासचिव चन्दले थप्नुभयो, “नेपाली जनतालाई एकचोटी जनमत दिने अधिकार दिएर जनमत संग्रहमा जानुपर्छ । विश्वबाट युद्धको अन्त्य कसैले गर्न सक्छ भने त्यो कम्युनिष्टले हो उहाँले भन्नुभयो, “कुनै विदेशीले हामीमाथि अतिक्रमण ग¥यो भने हामी आफ्नै भूमिमा गाडिन्छौं तर झुक्दैनौं ।”

आवश्यक पर्दा जुन र घामबीच पनि मिलन सम्भव हुने चर्चा गर्नुहुँदै महासचिव चन्दले नेपाली जनता र राष्ट्रको हितमा इमान्दारी पूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालको सार्वभौमसत्ता र स्वाधिनताको पक्षमा दृढतापूर्वक लड्ने उहाँले प्रष्ट पार्नुभयो ।

वार्ता टोलीका सदस्य तथा नेकपा (विप्लव समूह) का नेता उदयबहादुर चलाउने ‘दीपक’ ले नेपाललाई अग्रगमन तथा समृद्धिको बाटोमा लग्न सरकार र आफ्नो पार्टीबीच ऐतिहासिक काम भएको बताउनुभयो ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले सरकार र विप्लव समूहबीच भएको लामो प्रयासपछि निस्कर्षमा पुग्न सफल भएको बताउनुभयो । गत साउनबाट शुरु भएको प्रयास फागुनमा आएर निस्कर्षमा पुग्न सफल भएको उहाँले जानकारी गराउनुभयो ।

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएको थियो । सो सहमतिलाई डा. भट्टराईले वाचन गरेर सुनाउनुभएपछि दुवै पक्षका नेताले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । सहमतिपत्रमा सरकारको तर्फबाट बार्ता टोली संयोजक गृहमन्त्री थापा र विप्लब पक्षबाट बार्ता टोली संयोजक विश्वकर्माले हस्ताक्षर गरी सहमतिपत्र सार्वजनिक गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया