कान्ति राजमार्ग चालू आवभित्रै कालोपत्र सकिने

  फागुन ०९, २०७७

काठमाडौं, फागुन ९ : काठमाडौंलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमी सडकमा अझै केही वर्षसम्म कालोपत्र नगरिने कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।

त्यसबाहेक १० किमी सडक चालू आवभित्रै निर्माण हुने योजनाका सूचना अधिकारी दीपेश रजकले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले चालू ठेक्का सकेसम्म चाँडो सम्पन्न गरेर पुरानो ठेक्का सकौँ र नयाँ काम नयाँ ठेक्काबाट गरौँ भन्ने लक्ष्य छ ।” पछिल्ला केही वर्षयता वर्षेनी वर्षाका समयमा पहिराले गर्दा सडक अवरुद्ध हुने गरेको झण्डै पाँच किमी सडक तत्कालका लागि कालोपत्र नगरिने योजनाको लक्ष्य छ । ललितपुरको छपेली आसपास एक किमी र बीचबीचमा विभिन्न खण्ड एवं थोरै मकवानपुर खण्डमा काम गर्न कठिन रहेको सूचना अधिकारी रजकले बताउनुभयो ।

नयाँ सडक भएकाले त्यहाँ कालोपत्र गरिए पनि नटिक्ने उहाँले जानकारी दिनुभयो । केही वर्षसम्म हेरेर जमीन स्थिर भएपछि मात्रै कालोपत्र गर्न उपयुक्त हुनेछ । सो स्थानमा कालोपत्र बाँकी राखेर अरु काम चालू आवभित्रै गरेर आवतजावतमा सहज बनाइने योजनाको लक्ष्य छ । उहाँले भन्नुभयो, “एक किमी कालोपत्र गर्दा रु एक डेढ करोड जान्छ, राज्यको लगानी खेर फाल्न हुँदैन भनेर रीत पु¥याएर छाडिनेछ ।”

विगतमा विभिन्न समस्याका कारण सडक निर्माणले गति लिन सकेको थिएन । गत आवमा विश्वव्यापी कोभिड–१९ संक्रमणको जोखिमका कारण सडक निर्माण हुन नसकेपछि अहिले छ महिना अवधि थपिएको योजनाले जनाएको छ । चालू आवमा भने राम्रो गतिमा निर्माणको काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

कुनै समस्याले निर्माणमा अवरोध आएमा नसकिने भए पनि सबै सहज भए यस वर्ष कालोपत्र सक्ने लक्ष्य लिइएको सूचना अधिकारी रजकले बताउनुभयो । चालू आवमा कालोपत्र गर्ने भनिएको १० किमी सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायत आधारभूत काम भइरहेको छ ।

गत आवमा १५ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिइए पनि साढे आठ किमी कालोपत्र भएको र आवश्यक पूर्वाधारसमेत अघि बढाइएको थियो । कालोपत्रको काम अपेक्षा गरिएअनुसार नभए पनि अरु प्रगति लक्ष्यअनुसार रहेको योजनाले जनाएको छ ।

सडकको रेखांकनमा रहेका तीन पुलमध्ये सबै निर्माण सम्पन्न भइसकेको छ । पुलको चौडाइ कम भएकाले त्यसलाई सडकको चौडाइजतिकै बनाउन खाँचो रहेको सूचना अधिकारी रजकले जानकारी दिनुभयो । सडकको ट्र्याक दुई लेन भएकाले पुललाई पनि त्यत्तिकै चौडाइमा स्तरोन्नति गर्ने योजना बनाइएको छ ।

साढे नौ मिटर चौडाइको सडकमा सात मिटर सडक तथा साढे दुई किमी नालीलगायत संरचना बनाइएको छ । देशभरका अरु राष्ट्रिय राजमार्गमा जस्तै सो राजमार्गमा पनि सडकको अधिकार क्षेत्र (राइट अफ वे) समस्या छ । पहिले सहायक सडक (फेदर रोड) का रुपमा रहेकामासरकारले गत आवमा राष्ट्रिय राजमार्गका रुपमा सूचीकृत गरेको छ ।

राष्ट्रिय राजमार्गको चौडाइ सडक केन्द्रबाट ३१÷३१ मिटर हुनुपर्ने मापदण्ड भए पनि पहाडी क्षेत्रमा त्यो कायम गर्न सजिलो नभएको सूचना अधिकारी रजकले बताउनुभयो । अहिले तत्कालका लागि सडकको चौडाइ बढाउनुभन्दा भएकै चौडाइमा कालोपत्र गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले निर्माणस्थल खाली गराउनुभन्दा भएकै चौडाइमा कालोपत्र गरिँदैछ ।”

गत वर्षसम्म ९० किमी लम्बाइ रहेको सडकको लम्बाइ अहिले ८६ किमी छ । राजमार्गको शुरुविन्दु हेटौँडाको बुद्धचोक तथा अन्तिम विन्दु पहिले सातदोबाटो भए पनि अहिले ‘अलाइनमेन्ट’ परिवर्तन भएकाले लम्बाइ कम भएको छ । राजमार्गको छ किमी सडक निर्माण डिभिजन सडक कार्यालयले गरिहरहेकाले योजनाले ७९ किमी सडक निर्माण गरिरहेको छ । त्यसमध्ये ५१ किमी सडक ललितपुर र २८ किमी मकवानपुर जिल्लामा पर्छन् ।

निर्माण शुरु भएको छ दशकपछि कान्ति लोकपथ अन्तिम चरणमा पुगेको छ । विसं २०७२÷७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । सरकारले सो सडकलाई पहिलो प्राथमिकता (पिवान) मा राखेसँगै योजना कार्यालयको स्थापना भएको थियो । सरकारले एक दशकयता वर्षेनी राजमार्गका लागि बजेट विनियोजन गर्दै आएको छ ।

निर्माणाधीन सो राजमार्गलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौंसम्मको २२६ किमी लम्बाइको र हेटौँडाबाट पालुङ हुँदै काठमाडौं आउने १३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ । राजमार्ग निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करीब रु ८५ करोड र ललितपुरतर्फ करीब रु एक अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो ।

प्रदेश ३ को राजधानी हेटाँैडा तोकिएपछि पनि सो राजमार्गको महत्व अझै बढेको छ । संघीय राजधानीलाई तराई÷मधेशसँग जोड्ने सडकमध्ये निर्माणाधीन काठमाडौं–तराई÷मधेश दु्रतमार्ग सबैभन्दा छोटो हुनेछ । यो सडकको समेत विकल्पका रुपमा कान्ति राजमार्गलाई लिइन्छ ।

तपाईको प्रतिक्रिया